खेलकुद

च्याम्पियन्स लिग : बायर्न म्युनिखको अपराजित यात्रा कायमै

By खबरहब

October 25, 2023

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिग फूटबलमा समूह ‘ए’ को बायर्न म्युनिखले अपराजित यात्रा कायम राखेको छ ।

गएराति भएको आफ्नो तेस्रो खेलमा जर्मन बुन्डेसलिगा क्लब बायर्नले गालातासारेलाई ३–१ गोलले पराजित गर्दै सहज जित निकालेको हो ।

बायर्नको जितमा किङ्स्ले कोम्यान, ह्यारी केन र जमल मुसियलाले एक–एक गोल गरेका थिए । यस्तै गालातासारेका माउरो इकार्डीले एक गोल फर्काए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिँदा बायर्नले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

यो जितसँगै तालिकामा तीन खेलबाट ९ अंक जोडेको बायर्न शीर्षस्थानमा छ । गालातासारे समान खेलबाट चार अंकसहित दोस्रो स्थानमा छ ।