देश/प्रदेश

नवलपुरको खहरे जङ्गलमा सासूबुहारी मृत फेला

By खबरहब

December 25, 2023

नवलपुर– नवलपरासी पूर्व (नवलपुर)को विनयी त्रिवेणी गाउँपालिका– १ मा रहेको खहरे जङ्गलमा दुई महिलाको शव फेला परेको छ ।

विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदबहादुर पौडेलले जानकारी दिए । मृतकहरू सासूबुहारी हुन् ।

प्रनाउ पौडेलले स्थानीय खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरूको शव भेटिएको बताए ।

उनले हराएको मौखिक उजुरी परेपछि प्रहरीसहित ६० जनाको टोली जङ्गलमा खोजतलासका क्रममा आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटिएको बताए ।

डीएसपी पौडेलकाअनुसार विष्णुको बायाँ कम्पारो र मनादेवीको बायाँपट्टि पछाडिको भागमा चोट लागेको अवस्थामा शव भेटिएको थियो ।

शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा मृत्युको कारण पुष्टि हुने उनको भनाइ छ ।