समाचार

आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति

By खबरहब

December 25, 2023

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बढीको क्षति भएको छ ।

आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद एक लाख ५० हजार रुपैयाँ, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुँडा, अन्नपानी, काठपातलगायतका सामग्री जलेर नष्ट भएको बताइएको छ ।

आगलागीपछि आफन्तले दिएको ओढ्ने, ओछ्याउने लिएर मतानमा बास सरिएको पीडित रामबहादुरले गुनासो गरे । ‘घरमा भएका सम्पूर्ण सामग्री जलेर खरानी भयो । ऋण तिर्न भनेर तयार गरेको एक लाख ५० हजार नगदसमेत जल्यो । अहिले बस्ने बासकै टुङ्गो छैन । सुत्केरी बुहारी र नाबालक नातिको विचल्ली भयो’, उनले भने ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले आगलागी पीडितलाई सहयोगको तयारी भइरहेको जानकारी दिए ।

यसैबीच, आगलागीको उच्च जोखिममा रहेको खोटाङमा प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहमा आगलागी नियन्त्रणसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ ।

अभियानका क्रममा प्रहरीले विद्यालय, हाटबजार, मन्दिरलगायतमा जनचेतनामूलक कार्यक्रम गर्दै आगलागीका घटना हुन नदिन तथा भएमा बच्ने उपायका बारेमा जानकारी दिने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।