बलिउड/हलिउड

बुबा अरबाजको बिहेमा गितार बजाउँदै अर्हान 

By खबरहब

December 25, 2023

काठमाडौं– बलिउड अभिनेता सलमान खानका भाइ अरबाज अभिनय बाहेक पनि विभिन्न विषयले चर्चामा आइरहन्छन् । पछिल्लो समय उनी दोस्रो विवाहका कारण चर्चामा छन् । 

अरबाजले मेकअप आर्टिस्ट शुरा खानसँग आइतबार लगन गाँठो कसेका हुन् । मुम्बईमा भएको सो विवाह समारोहमा खान परिवार र नजिकका इस्टमित्रमात्रै सहभागी रहेको बताइएको छ । 

फिल्म निर्माता अतुल अग्निहोत्रीले विवाहको सानो झलक समाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । जसमा अर्बाजका छोरा अर्हानले बुबाको बिहे विशेष बनाउन आफ्नो सांगीतिक प्रस्तुति दिएका छन् । अरबाजले आफ्नो विवाहमा छोराले गितार बजाएको दृश्य मोबाइलमा कैद गरिरहेका छन् । 

२१ वर्षीय अर्हान, अरबाज र मलाइका अरोरका छोरा हुन् । अरबाज र मलाइकाको सन् २०१६ मा डिभोर्स भएको थियो । डिभोर्सपछि अर्हान बुबासँग बस्दै आएका छन् । यद्यपि उनको आमासँग पनि सम्बन्ध राम्रो छ । 

मलाइका अहिले नायक अर्जुन कपुरसँग डेट गरिरहेकी छन् भने अरबाजले आफूभन्दा २२ वर्ष कान्छी प्रेमिका जर्जिया एन्ड्रियानीसँग ब्रेकअप गरेर शुरासँग लगन गाँठो कसेका हुन् । अरबाज र शुराको भेट आगामी फिल्म ‘पटना शुक्ला’को सुटिङका क्रममा भएको हो ।