समाचार

हिउँदे वर्षा नहुँदा महोत्तरीका किसान चिन्तित

By खबरहब

January 26, 2023

महोत्तरी– माघ दोस्रो साता लागेसँगै पारिलो घाम लाग्न थालेपछि त्यसअघिको बाक्लो हुस्सु र चिसो स्याँठको मुटु कमाउने जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत आइतबारयता बिहानै घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुसी छैनन् । 

यसपालि पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुसी छाउन नसकेको हो । हिउँदे वर्षा नहुँदा खेतबारीका बालीका बिरुवा क्रकँदै गएको हेरेर चित्त बुझाउनुपरेको किसानको भनाइ छ । ‘ल हेर्नोस्, अब पारिलो घाम लागेर जिउ त तात्न थाल्यो, बाक्लो हुस्सु फाटेर झलमल्ल उज्यालो देखिँदा खुसी नै हुनुपर्ने हो’, बलवा नगरपालिका–१० धमौराका ७० वर्षीय वासुदेव पासवानले भने , ‘यसपाली पानी नपरी हिउँद बित्यो, आउने दिन खुसीका हुने छैनन् ।’ हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कंन नसकेको र अब चाँडै पानीका मुहान सुक्दै जाने पासवानले चिन्ता व्यक्त गरे ।  

हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोषिलो हुने यहाँका पाका किसान बताउँछन् । भर्खरै हुर्कंदै गरेका बैशाखी लहरे तरकारी, उखु, अन्नबालीमा गहुँ र आँपसहितका फलका रूख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । यसपालि वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने चिन्ता बढेको भङ्गाहा नगरपालिका-४ पलारका ७५ वर्षीय किसान चौँठी बाँतरले बताए।

हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत इनार, चापाकल पनि गर्मी चढेसँगै चाँडै सुक्ने गरेका छन् । भङ्गाहा–४ कै रामनगरका ८० वर्षीय किसान रामनन्दन महतो यसपालि हिउँदमा पानी नपरी माघ दोस्रो साता लागेसँगै घाम चर्कंदै गएको हुँदालगत्तै खानेपानीको हाहाकार पर्नसक्ने बताउँछन् । ‘माघ मध्यअघि नै खोल्साखोल्सी सुक्दैछन्, विगतका सदाबहार भुल्के पानीका मुहानमा अहिल्यै पानी देखिन छाडेको छ’, बर्दिबास नगरपालिका–५ गणन्ताका ८० वर्षीय धनबहादुर स्याङ्वाल भने , ‘अब यी पाखा बारीमा हरियो देखिने छाँट छैन ।’

फलफूल खेती सघन हुने बर्दिबास नगरपालिकाका बिजलपुरा, पशुपतिनगर, खयरमारा, चेरु, टुटेश्वर, पाटु, वरडाँडा र माइस्थानका किसान यसपालि हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्तामा किसान छन् । यसैगरी जिल्लाकै फलफूल खेतीको पकेटक्षेत्र मानिने गौशाला नगरक्षेत्रका भरतपुर, लक्ष्मीनियाँ र बेलगाछीका किसान पनि हिउँदे वर्षा नहुँदा अपेक्षित उत्पादन लिन नसकिने चिन्ता व्यक्त गर्छन् ।

हिउँदे वर्षा बालीनालीका लागि माटो भिजाउने मात्र नभई रोग लाग्न नदिने र बाली हलक्क बढाउने अमृतसरह भएको किसानको अनुभव छ । ‘हिउँदे वर्षा सिँचाइका लागिमात्र होइन, बालीको पोषण र रोग प्रतिरोधका लागि पनि रामवाण हुन्छ’, बर्दिबास-९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतोले भने, ‘हिउँदे वर्षा नहुँदा प्रकृतिका सन्तुलन खलबलिन्छ, जताततै यसको असर बढ्नेछ ।’ 

हिउँदे वर्षाको मानव र यावत् जीवजन्तुको स्वास्थ्य र अन्य आहारव्यहारमा पनि सकारात्मक प्रभाव हुने विगतमा पशुपतिनगर गाविस छँदा अध्यक्षसमेत रहेका महतोको थप भनाइ छ । ‘यसपाली हिउँदे वर्षा भएन, खै के उल्का उत्पात व्यहोर्नु पर्ने हो’, महतोले चिन्ता व्यक्त गर्दै भने ।

जिल्लाको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अधिकांशमा आकाशे पानीको भरमा खेती गरिन्छ । यहाँ १० प्रतिशतमात्र खेतीयोग्य जग्गामा स्थायी सिँचाइ पुगेको छ । हिउँदे वर्षा नहुँदा पानीका मुहान चाँडै सुक्ने र विभिन्न रोगव्याधका प्रकोप पनि बढ्ने गर्छन् ।