फाइल फोटो

खेलकुद

बुढासुब्बा गोल्डकप : क्यामरुन सेमी फाइनलमा

By खबरहब

February 26, 2023

काठमाडौँ – २३औँ बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको आइतबार सम्पन्न खेलमा क्यामरुनको एभेनियर फुटबल क्लब विजयी भएको छ ।

धरान–१६ स्थित रङ्गशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा बागमती युवा क्लबलाई १–० को गोलअन्तरले हराउँदै क्यामरुन सेमिफाइनल प्रवेश गरेको हो ।

पहिलो हाफको १४औँ मिनेटमा कप्तान गिनीको पासमा साबा अलीले गरेको एक मात्र गोल क्यामरुनलाई जितका लागि निर्णायक बन्यो । बाँकी खेल अवधिभर दुवै टोली गोल गर्ने प्रयास भए तर सबै निरर्थक साबित भए । बागमती युवा क्लबले पाएको आधा दर्जन अवसर गोलमा परिणत हुन सकेन ।

खेलको ‘म्यान अफ दी म्याच’ बागमती युवा क्लबकै आयुष राना घोषित भए । उनले नगद १० हजार पुरस्कार पाएका छन् । सोमबार झापाको केएफटिसी र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।