विजयी भएपछि उपेन्द्र यादवलाई प्रमाणपत्र प्रदान गरिँदै ।

देश/प्रदेश

बारा-२ मा उपेन्द्र यादव विजयी

By खबरहब

April 26, 2023

काठमाडौं – उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गर्दै विजयी भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन् ।

नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याएर तेस्रो भएका छन् । चितवन र तनहुँमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने दुई हजार ८ सय २९ मत मात्र पाएका छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ चितवन, तनहुँ र बारा तीनवटै क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । दुई क्षेत्र रास्वपा विजयी हुँदा बारामा जसपा विजयी भएको हो । जसपाका अध्यक्ष यादव सत्ता गठबन्धनका उम्मेदवार हुन्।

बारा–२ मा ६९ हजार १ सय ७ मत खसेको थियो । यो उपनिर्वाचनबाट मंसिर ४ गतेको चुनावमा सप्तरी– २ मा सिके राउतसँग पराजित यादव विजयी भएका हुन् ।