तस्वीर- विकिमिडिया कमन्स

अन्तर्राष्ट्रिय

मलाबार अभ्यासमा क्वाडका नौसेना सहभागी हुने

By खबरहब

May 26, 2023

नयाँ दिल्ली- चारपक्षीय सुरक्षा समूह क्वाडका नौसेनाले यही वर्ष आयोजना हुने नौसैनिक अभ्यासमा सहभागिता जनाउने भएका छन् ।

यही वर्षको अगस्ट महिनामा अष्ट्रेलियामा आयोजना हुने मलाबार नौसैनिक अभ्यासमा क्वाडका नौसेनाको सहभागिता रहने भारतीय नौसेनाले जानकारी दिएको छ ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यस अभ्यासमा भारत र अष्ट्रेलियासहित जापान र अमेरिकी नौसेनाले पनि सहभागिता जनाउनेछन् ।

अगस्ट ११ देखि २१ सम्म सञ्चालन हुने अभ्यासमा नौसैनिक योजना, समायोजन तथा अत्याधुनिक युद्ध रणनीतिबारे प्रशिक्षण हुने जनाइएको छ ।

गत वर्ष पनि यी चार मुलुकले जापानमा नौसैनिक अभ्यास गरेका थिए । क्वाडमा सम्मिलित ४ मुलुकले मलाबार नौसैनिक अभ्यासमा सहभागिता जनाउन लागेको यो लगातार चौथो पटक हो ।