ब्रेकिङ स्टोरी

सुन प्रकरण : रेडी ट्रेडको गोदाममा छापा, एक पक्राउ

By खबरहब

July 26, 2023

काठमाडौँ – राजस्व अनुसन्धान विभागको टोलीले आज काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ ।

गोदाममा छापा मारेर विभागले केही कार्टुन ‘ब्रेक शु’ बरामद गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए ।

यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो । त्यसैले सुन लुकाएको आशङ्कामा विभागले आज छापा मारेको हो । त्यहाँबाट विगतमा बरामद गरिएको जस्तै कार्टुनमा सामान बरामद गरिएको छ ।

यसैबीच विभागले सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नुवाकोटका दिनेश तामाङलाई पनि आज पक्राउ गरेको महानिर्देशक ढुङ्गानाले जानकारी दिए । उनीमाथि तस्करहरूलाई गोदाम खोजिदिएको आरोप लागेको बताइएको छ ।

उनीसहित अहिलेसम्म विभागले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धान र थप आरोपीको खोजतलास जारी रहेको विभागले जनाएको छ ।