फाइल फोटो

समाचार

एक महिनाको मात्र औषधि वितरण गरिँदा अस्पतालमा भीड

By खबरहब

September 26, 2023

चितवन– स्वास्थ्य बीमामा आवद्ध बिरामीलाई एक महिनाको मात्रै औषधि वितरण गरिँदा भरतपुर अस्पतालमा भीड बढेको छ । 

केही महिनाअघिसम्म दीर्घरोगीका लागि दुई महिनासम्मको औषधि एकैपटक वितरण गरिँदै आएकोमा पछिल्लो समय एक महिनाको मात्रै औषधि प्रदान गर्न लागिएको हो ।

एक महिनाका लागि मात्रै औषधि दिँदा टाढा–टाढाका बिरामीले झमेला व्यहोर्नु परेको छ । बहिरङ्गको टिकट लिएर चिकित्सकसँग परीक्षणपश्चात् मात्रै औषधि पाइन्छ । 

दीर्घरोगीहरू आफैँमा समस्यामा हुने र टाढा–टाढाबाट महिनैपिच्छे आउनुपर्ने बाध्यता रहेको छ । यसले अस्पतालको व्यवस्थापनमा समेत समस्या देखापरेको छ ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप उच्च छ । गत असोज ४ गते एकैदिन अस्पतालमा दुई हजार नौ सय ४० जना बिरामी आएका थिए । 

तीमध्ये दुई हजार सात सय नौ बिरामीले बहिरङ्ग सेवामा र दुई सय ३१ जनाले आकस्मिक सेवा लिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

माडी नगरपालिका–४ की गोमादेवी चापागाइँ नियमित सेवन गर्ने औषधि लिन अस्पताल आएकी थिइन् । सोमबार बिहान १०ः३० बजेदेखि अस्पतालको फार्मेसीमा लाइनमा बसेकी उनले टोकन लिँदा दुई सय नम्बर पालो आयो । बीमाबाट पाउने औषधि लिनका लागि आएका बिरामीको लाइन लामो लाग्ने गरेको छ ।

मधुमेह, उच्च रक्तचाप र पिसाब रोक्ने औषधि लिन आएकी उनी महिनैपिच्छे आउनुपर्दा समस्या भएको बताउँछिन् ।

भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट नियमित सेवन गर्ने औषधि लिन आएका ६८ वर्षीय अम्बिकाप्रसाद सापकोटा औषधि नियमित लिन आउनुपर्दा झन्झट भएको बताउँछन् । अस्पतालमा आएर परीक्षणपछि नियमित सेवन गर्ने औषधिको समेत लाइन बस्नुपर्ने हुँदा बिरामीको चाप बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

अस्पतालमा आइतबारमात्रै बहिरङ्ग सेवामा दुई हजार चार सय ९४ जनाले सेवा लिएका थिए भने आकस्मिक कक्षमा दुई सय ४५ जनाले सेवा लिएका थिए । 

अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेलले अस्पतालमा आउने आधा बिरामीले नियमित औषधि खाने रहेको बताए ।

अस्पतालमा आउने बहिरङ्ग सेवाका बिरामीमध्ये ७० प्रतिशत बीमाका बिरामी छन् । उनले भने, ‘बीमाका बिरामीलाई तीन महिनाको औषधि दिन सकेमा अस्पतालको भीड धेरै घट्छ ।’ यसले अस्पताल व्यवस्थापन र बिरामीले पाउँदै आएको झन्झट घट्ने उनको भनाइ छ ।