ब्रेकिङ स्टोरी

संसदीय समितिद्वारा क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन

By खबरहब

November 26, 2023

काठमाडौं- संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाइ गर्दै सर्वसम्मत अनुमोदन गरेको हो । यसअघि समितिको कार्तिक १५ गते बसेको बैठकले पौड्यालविरुद्ध उजुरी आह्वान गरेको थियो । यसबीचमा पौड्यालविरुद्ध दुईवटा उजुरी परेको थियो ।

उजुरीकर्तामध्ये सम्पर्कमा आएका एकजनासँग समितिले आइतबार नै छलफल गरेको थियो । उजुरीलगायत भावी कार्ययोजनाबारे छलफल गरी समितिले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिको सुनुवाइका क्रममा समिति सदस्यहरुको जिज्ञासामा प्रस्तावित राजदूत पौड्यालले यसअघि पनि सचिवलाई राजदूत सिफारिस गर्ने प्रचलन रहेको बताए । सरकारलाई आएको छात्रवृतिमा छोरीलाई विदेश पठाएको उजुरी पनि साँचो नरहेको उनले बताए ।

पौड्यालले आफू राजदूतमा नियुक्त भएमा क्यानडामा रहेका नेपालीहरुको समस्या समाधान गर्न र दुईपक्षीय सम्बन्ध विस्तार गर्न ध्यान केन्द्रित हुने जिकिर गरे ।

हाल परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका लागि आवासीय राजदूत एवं क्युबा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैर आवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सुनुवाइ समितिले अनुमोदन गरेसँगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।