कास्की – राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेलको शतकिय इनिङ्समा नेपाल पुलिस क्लबले केपी ओली कप राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा शानदार जित निकालेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा जारी प्रतियोगितामा समुह सी अन्तर्गत आज भएको खेलमा विभागीय टोली पुलिसले मधेश प्रदेशलाई ५७ रनले हराएको हो ।
कुशलले ५६ बलमा ७ छक्का र ८ चौकाको मद्धतले १ सय २ रन बनाए । जारी प्रतियोगितामा शतक प्रहार गर्ने भुर्तेल पहिलो खेलाडी बने । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५ विकेटको क्षतीमा १ सय ७५ रन बनाएको थियो ।
पुलिसका सुनिल धमलाले ४५ रन बनाए । करन केसीले १६ रन जोडे । मधेश प्रदेशका विशाल शुसलिङ र विशाल पटेलले समान २ तथा रुपेश सिंहले १ विकेट लिए ।
जवाफी व्याटिङमा उत्रिएको मधेश प्रदेश भने १८ दशमलव २ ओभरमा १ सय १८ रनमा अल आउट भयो । मधेश प्रदेशका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । इमरान शेखले २२, रोहन विक र राकेश कमातले समान १० रन जोडे ।
पुलिसका करन केसी, सागर ढकाल, राशिद खान र ललित राजवंशीले समान २ विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले समान १–१ विकेट लिए ।
एपीएफ अन्तिम चारमा
आजै भएको पहिलो खेलमा गण्डकी प्रदेश लुम्बिनीसँग पराजित हुँदा शसस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ । महत्वपूर्ण खेलमा गण्डकी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एपीएफ रनरेटका आधारमा सेमीफाइनलमा स्थान पक्का गरेको हो ।