तस्वीर- एएफपी

अस्ट्रेलिया / ओसिनिया

चिनियाँ युद्धपोतले गोताखोरलाई घाइते बनाएपछि अस्ट्रेलियन प्रधानमन्त्री : ‘सम्बन्ध बिग्रिनसक्छ’

By खबरहब

November 26, 2023

सिड्‍नी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले चिनियाँ युद्धपोतले एक जना अस्ट्रेलियन गोताखोरलाई घाइते बनाएपछि दुई मुलुकबीचको सम्बन्ध बिग्रिनसक्ने चेतावनी दिएका छन् । उनले चिनियाँ युद्धपोतले जापानी आर्थिक क्षेत्रको समुद्रमा खतरनाक र अमर्यादित ढंगले गतिविधि गरेको आरोप पनि लगाए ।

गत नोभेम्बर १४ मा भएको घटनामा चिनियाँ र अस्ट्रेलियन नौसैनिक पानीजहाज आमने सामने हुँदा अस्ट्रेलियाका एक जना सैनिक गोताखोर घाइते भएका थिए ।

अस्ट्रेलियन नौसैनिक पानीजहाज एचएमएस टुवुम्बाले जापानी समुद्री क्षेत्रमा माछा मार्ने जालहरु हटाइरहेका बेला चिनियाँ नौसैनिक पानीजहाजले खतरनाक गतिविधि सञ्चालन गर्दा एक जना सैन्य गोताखोर घाइते भएका थिए ।

घटनापछि स्काई न्यूज अस्ट्रेलियासँगको कुराकानीमा प्रधानमन्त्री अल्बानिजले भने, ‘चिनियाँ नौसैनिक युद्धपोतको त्यो कदम अमर्यादित र असुरक्षित थियो ।’

यता चीनले भने अस्ट्रेलियन प्रधानमन्त्रीको आरोपको खण्डन गर्दै आफ्नो नौसैनिक पानीजहाजले अन्तर्राष्ट्रिय कानूनअनुसार गतिविधि सञ्चालन गरेको जनाएको छ ।