मुख्य समाचार

नेतृत्व अनुशासनहीन भए समाज द्वन्द्वमा फस्छ

By खबरहब

December 26, 2023

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का युवा नेता सुदन किरातीको पछिल्लो अभिव्यक्ति विवादित बनेको छ। संविधानले धर्म निरपेक्षतालाई स्वीकार गरेको भन्दै मन्त्री किरातीले खुला मनका साथ आफूहरूलाई क्रिश्चियन हौँ भन्नका लागि आह्वान गरेको भन्दै हिन्दु धर्मावलम्बीले त्यसको विरोध गरेका छन्। संविधानले दिएको अधिकार प्रयोग गर्नुपर्छ भन्ने उनको अभिव्यक्ति थियो। मन्त्रीको अभिव्यक्तिले सिंगो समाजलाई सामाजिक, धार्मिक रूपमा आन्दोलित बनाएको उनीहरुको दाबी छ। यो अभिव्यक्तिलाई लिएर उनीहरुले मन्त्री किरातीको राजीनामासमेत मागेका छन्। मन्त्री किरातीको अभिव्यक्तिले के संकेत गर्छ ? के मन्त्रीले राजीनामै दिनुपर्ने अभिव्यक्ति दिएकै हुन् ? सनातन धर्म संस्कृति सङ्गठनका अध्यक्ष पुष्पराज पुरुषसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

संस्कृतिमन्त्रीको अभिव्यक्तिप्रति तपाईंहरूको भनाइ के हो ? नेपालको मूल धर्म, संस्कृति र परम्परा नष्ट गर्ने भनाइ हो भनेर हामीले भनिरहेका छौं। तर नेपाली समाजले पत्याएको थिएन। अहिले उहाँकै मुखबाट तथानाम सुनेपछि सबैलाई थाहा भयो। यस्ता व्यक्तिहरू पदमा रहनु हुँदैन। प्रचण्ड सरकारले संस्कृति मन्त्रीलाई पदमुक्त गराउनुपर्छ भनेर माग गरेका छौँ। पदबाट हटाएर कानुनी कारबाही गरिनुपर्छ भनेका छौँ। पहिला तामाङ समुदायलाई के के भनियो भनेर वकिललाई कारबाही गरियो। श्रीनिवास आचार्यलाई बोलेको मिलेन भनेर मुद्दा चलाए। मन्त्रीले बोलेको भन्दैमा उहाँलाई कानुन नलाग्ने भन्ने हुँदैन।

संस्कृतिमन्त्री जस्ता व्यक्तिहरू पदमा रहनु हुँदैन। प्रचण्ड सरकारले संस्कृति मन्त्रीलाई पदमुक्त गराउनुपर्छ भनेर माग गरेका छौँ। पदबाट हटाएर कानुनी कारबाही गरिनुपर्छ भनेका छौँ।

सबै धर्मको अभिभावक हुँ, आलोचना गर्नु उपयुक्त छैन र आत्मालोचना गर्न जरुरी छैन भन्दै बहसका लागि धन्यवाद दिएका छन्। अब किन विवाद गर्ने ? पहिलो कुरा उहाँ अभिभावक होइन, सेवक हो। नेपालका शासकले आफूलाई मालिक सम्झिदा रहेछन्। त्यो भ्रमबाट उहाँ मुक्त हुनुपर्छ। उहाँहरूलाई जनताको सेवा गर्न प्रतिनिधि छानेको हो। आज देश उँभो नलाग्ने यस्तै सोचाइ भएका व्यक्तिले गर्दा नै हो। यस्तो विषयमा सामाजिक बहस हुनुपर्छ। हामीले छानेका व्यक्तिहरू गतिछाडा, अनुशासनहीन भए भने समाज झन् अनुशासनहीन हुन्छ र झन् द्वन्द्वमा फस्छ। त्यो परिस्थिति नबनोस् भनेर हामीले सचेत गराएका हौँ।

संस्कृतिमन्त्री पशुपति क्षेत्रको संरक्षक हुन्। पछिल्लो समयमा पशुपति क्षेत्र भित्र वा कोष भित्र भइराखेको गतिविधिका सन्दर्भमा तपाईंहरु किन मौन हुनुहुन्थ्यो ? अघिल्लो पटक बुद्धिजममा विद्यावारिधि गरेको व्यक्ति त्यहाँ नियुक्त हुनुहुन्थ्यो। अहिले उहाँले एक राजनीतिक कार्यकर्तालाई नियुक्त गर्नुभएको छ। धार्मिक क्षेत्रमा दलका पदाधिकारी नियुक्त गर्ने काम गलत हो। त्यही भएर हामीले गठबन्धनका नेताहरूलाई भेटेर नेपालको कुनै पनि मठमन्दिरमा राजनीतिक व्यक्तिलाई ल्याएर राख्नु हुँदैन भनेका छौँ। सम्बन्धित सम्प्रदायको धर्म संस्कृतिको ज्ञान नभएको व्यक्तिलाई राज्यले दिएको बजेटबाट कमिसन खाने कर्मचारी भर्ती केन्द्र बनाउन पाइँदैन भनेर भनेका छौँ। पार्टी चाहिँ धर्म नमान्ने। तर उनका कार्यकर्ता मठमन्दिरमा गएर राजनीति गर्ने कुरा मिल्दैन। यसमा मन्त्री किरातीको कुरा पनि जोडिन्छ। उहाँमा सामान्य गल्तीको महसुस हुन्थ्यो भने दम्भ देखाएर हिँड्नु हुने नै थिएन। यस्ता अभिव्यक्तिलाई नेपाली समाजले स्वीकार गर्न सक्दैन।

पहिलो कुरा मन्त्री भनेको अभिभावक होइन, सेवक हो। नेपालका शासकले आफूलाई मालिक सम्झिदा रहेछन्। त्यो भ्रमबाट मुक्त हुनुपर्छ।

धर्म निरपेक्ष भइसकेको राज्यले हिन्दु मठमन्दिर राज्यको मातहतमा राख्न पाउँदैन भन्ने तपाईंहरूको भनाइ थियो। त्यो माग कहाँ पुग्यो ? यो माग निरन्तर छ। यस्ता गतिविधिको क्षेत्रमा हामी लागिपर्ने छौँ। धर्म छाडा दलले समग्र धार्मिक क्षेत्रलाई इसाई र मुस्लिमको चपेटामा सनातन हिन्दु र इसाई मुस्लिम उस्तै हुन् भन्ने जुन भाष्य निर्माण गरेका छन् त्यसलाई हामी खारेज गर्छौँ। गाई पुज्ने र खाने एउटै हुँदैन।

धार्मिक अतिक्रमणका गतिविधि बढ्दै गएका छन्। यसको कारण के देख्नुहुन्छ ? यहाँ ओमकार परिवारलाई कमजोर बनाउने काम भइराखेको छ। विदेशी गैरसरकारी संस्थालाई बलियो बनाएका कारणले यो अवस्था आएको हो। कानुन नै दुई थरी प्रयोग गरेका छन्। राज्यले गाई र गोरु काटेर फेसबुकमा अनेक कुरा लेख्नेलाई पनि कारबाही गर्न सक्दैन। मन्दिरको अगाडि चर्च बनाउन पुग्दा पनि राज्य रमिता हेर्छ। यता सनातन हिन्दुका गुरुहरूले केही बोल्ने बित्तिकै मुद्दा चलाउँछन्। यो भनेको नेपालको स्थानीय परम्पराको विरोध हो। यसमा दलका नेता सक्रिय छन्।

तपाईंहरू पनि गुटगत आन्दोलनमा हुनुहुन्छ किन एक हुनुभएको छैन ? हामी परेको बेला सबै एकठाउँमा छौँ। सनातन हिन्दु भनेको एकवादी होइन। एउटा ग्रन्थ र ब्यानरमा सङ्गठित हुने समुदायलाई सनातन हिन्दु भनिँदैन। हाम्रो मूल परम्परा नै पाञ्चायन पूजा हो। हामी बहुलवादी हौँ। हामी आ–आफ्नो हिसाबले चलेका छौं। तर जब राष्ट्रियतामाथि खलल पुग्छ हामी सबै एक ठाउँमा आइहाल्छौँ। जनताले सामाजिक रूपमा बहिष्कार गरेपछि नेताको काम छैन। यस्तो गतिविधिले उहाँहरू आफै बहिष्कृत हुँदै जानु हुन्छ।

मन्दिरको अगाडि चर्च बनाउन पुग्दा राज्य रमिता हेर्छ। तर सनातन हिन्दुका गुरुहरूले केही बोल्ने बित्तिकै मुद्दा चलाउँछन् । यो भनेको नेपालको स्थानीय परम्पराको विरोध हो।

बहिष्कार त महाकालेश्वरमा देखियो। त्यसपछि पशुपतिको मन्दिरमा पनि पुगेका हुन् ? हाम्रोमा पश्चाताप गर्ने विधान छ। मैले पाप गरेँ, मलाई भगवानको शरणमा ठाउँ देऊ भन्दा हामीले राक्षस असुरलाई त ल्याएर चेलो बनाएर प्रभात जस्तो सन्तान बनाएको इतिहास छ। त्यसैले हामीले सनातन हिन्दुमा आउनेलाई केही गर्दैनौँ। तर सनातन हिन्दु नै सक्छु भनेर लाग्नेको त बिजोक हुन्छ।

पहिला पनि यिनै पात्रहरू आएका थिए। तपाईंहरूले कहाँ अवरोध गर्न सक्नु भयो र ? यो नेपाली जनतामा भरपर्छ। २७५ नेता सांसद छन्। तिनलाई नेता बनाउने त समग्र नेपाली जनता हुन्। हामी गुरुहरू पनि एक दुई सय छौं। हामीलाई नेतृत्व दिने नेपाली समाजले हो। नेपाली समाजले नै गतिछाडा, धर्म छाडा, चरित्र छाडा, नीति नियम नमान्ने गर्नु हुँदैन। घाँटीमा टाई लगाएर किरातीका कुरा गर्ने, विदेशी भाषा बोल्ने, विदेशी लुगा लगाउने, विदेशी खानपान गर्ने र स्वदेशी कुरा नगर्नेलाई भोट हाल्ने नेपाली जनता नै हुन्। यिनै शासकलाई सुधारेर जान्छन् भने राम्रो भइहाल्यो। भएन भने त आफ्नै छोरा नाति पनातिलाई तयार गरेर भए पनि देश त बचाउनुपर्छ। देशको धर्म र संस्कृति बचाउनुपर्छ।। त्यसैले अब नयाँ तरिकाले अगाडि बढ्ने बेला भएको छ। दिन प्रतिदिन अहिले यिनैका गतिविधिले गर्दा आफै आरोपित भएका छन्।

हिन्दुवादीहरु भारतबाट पैसा आउँदासम्म आन्दोलन गर्छन् । त्यसपछि चुप लाग्छन् भन्ने आरोप छ। हिन्दु इतर समूह पश्चिमबाट पैसा ल्याएर खाने, तपाईंहरु भारतको पैसा खाने र आन्दोलन गर्ने यो त उस्तै भएन ? नेपालमा कोही चीनबाट, कोही भारतबाट र कोही युरोप र अमेरिकाबाट भिख मागेर खाने भएकाले यो पनि म जस्तै मागेर खाने हो भनेर भन्छन्। अब विस्तारै धार्मिक क्षेत्रहरू जुर्मुराउदै छन्। हामीलाई इन्डिया इन्डिया भन्छन्। यिनिहरुले सनातन हिन्दु धर्म भनेको के हो भनेर बुझ्न यहाँ आउनुपर्छ। किनकि नेपालमा जस्तो २४ थरी परम्परा भारतमा छैनन्। महान् पर्व दसैं र तिहार जस्ता चाडपर्व भारतमा छैनन्। त्यहाँ क्रिश्चियनहरु ११/१२ वर्षसम्म गुलाम बनाएर त्यहाँको स्थानीय संस्कृति सबै लोप बनाएको छ। यो सबै कुरामा नेपाल चोखो छ।

अहिलेका मन्त्रीको अन्तिम उद्देश्य भनेको क्रिश्चियन, मुस्लिम र हिन्दुहरुको लडाइँ गराउने हो। भोलि त्यो देखाएर विदेशीसँग पैसा माग्ने बाटो बनाइराखेका छन् । यिनीहरुबाट अरु कुराको आश गर्न सकिँदैन।

धार्मिक रूपमा हस्तक्षेपकारी अभिव्यक्ति राज्यका निकायको नेतृत्व गर्नेबाटै आएका छन्। अब यसको प्रतिरोध र प्रतिवाद कसरी गर्ने ? उहाँहरूको मानसिकताबाट यो देश बन्दैन। उहाँहरूलाई जति समय पदमा राखिन्छ नेपालले नयाँ आविष्कार गर्न सक्दैन। अहिलेका नयाँ पुराना सांसदहरू कुनैमा पनि त्यस्तो योजना छैन। जसले नेपालको अस्तित्वलाई जरैदेखि सम्हालेर लैजाओस् र गौरव पूर्ण बनाओस्। उहाँहरू विदेशीले चलाएका व्यक्ति हुन। उनीहरुका कुरा सुनेर बस्ने हो भने हामी हरेक दिन खाडलमा पर्छौँ। यसमा हामीलाई विश्वास छैन।

बिदा कटौतीका कुराहरू पनि उठेका छन्। यसमा तपाईंको भनाइ के छ ? उहाँको अन्तिमको उद्देश्य भनेको क्रिश्चियन, मुस्लिम र हिन्दुहरुको लडाइँ गराउने हो। भोलि त्यो देखाएर विदेशीसँग पैसा लिने मात्र हो। उहाँबाट अरु कुराको आश गर्न सकिँदैन। यस्ता व्यक्तिलाई नेपाली जनताले कहिलेसम्म पदमा राख्ने ? हामीले उहाँलाई कारबाही गर्न ७२ घण्टाको समय दिएका छौँ।

हामीले देशभर प्रदर्शन पनि गरेका छौँ। हामी चरणबद्ध रुपमा व्यवस्थाको विरुद्धमा बोल्छौँ। राज्यले सम्बोधन गरेन भने आन्दोलन चर्किदै जान्छ। यसमा जनताको सहयोगलाई हेरेर योजना थप अगाडि बढाउँदै लान्छौं।

सनातन धर्म संस्कृति सङ्गठनका अध्यक्ष पुष्पराज पुरुषसँगको कुराकानी :