समाचार

‘संघीय निजामती सेवा ऐन संसद्‌मा पेश हुन्छ’ 

By खबरहब

January 27, 2023

मोरङ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दुई महिनाभित्र संघीय निजामती सेवा ऐन संसद्‌मा पेश गर्ने बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले संघीयता कार्यान्वयन गर्दै सहमतिका आधारमा कर्मचारीको अवकाशको उमेर ५८ वा ६० वर्ष जुन भएपनि न्याय गरिने प्रष्ट पारे । 

उनले स्थानीय तहमा प्रमुखका रुपमा निमित्त कर्मचारी रहने कार्यलाई अन्त्य गर्दै जहाँ जसको दरबन्दी छ सोहीअनुसार कर्मचारी पठाउने कार्य सुरु गरेको जानकारी दिए । मन्त्री मोदीले सुशासन कायम गर्न प्रशासकीय सुधारको पहलस्वरुप कर्मचारी कार्यालय समयमा आउनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिएको बताए ।

मन्त्री मोदीले राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र एवं मालपोत कार्यालयबाट प्रदान गरिने सेवा छिटो छरितो र सरल बनाउन मोरङका सरकारी कार्यालयका प्रमुखसँग छलफल गरिएको जानकारी दिए ।

प्रशासनिक कामलाई नागरिक केन्द्रित बनाउने अभियान मुलुकभर सञ्चालन गरी सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र उत्तरदायी बनाउन आफू प्रतिबद्ध रहेको बताए ।