अन्तर्वार्ता

‘ओलीको पिँजडाबाट बाहिरिएपछि प्रचण्डजी आनन्दले सुत्नुभयो होला’

By खबरहब

February 27, 2023

पुस १० गते प्रधानमन्त्री नियुक्त गर्नका लागि बनेको राजनीतिक दलहरूको समीकरण दुई महिनापछि राष्ट्रपति निर्वाचनका लागि फेरिएको छ र ८ दलको नयाँ समीकरण बनेको छ । यस्ता गठबन्धनहरू आखिर केका लागि बन्छन् ? पदकै लागि हो कि राष्ट्र र जनताका समस्या सम्बोधन गर्न बन्ने हुन् ? यसै विषयमा आधारित भएर नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री मेटमणि चौधरीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश-

नयाँ सत्ता समीकरण बन्दा सबै भन्दा फाइदामा तपाईँको दल पर्‍यो हैन त ?

राजनीतिक पदमा जान संसद्‌मा जानु नै पर्छ । संसद्‌मा गएपछि मात्र हामी हाम्रा कामहरू गर्न सक्छौँ । प्रचण्डलाई पहिलाको समीकरणमा सहज भएको भए छोटो समयमा नयाँ समीकरण बन्दैनथ्यो । केपी ओलीको पिँजडाबाट प्रचण्ड बाहिर आउनु भयो, त्यसपछि उहाँ आनन्दले सुत्नुभयो होला । एउटा उद्देश्य प्राप्तिको लागि गठबन्धन बन्छ । त्यसमा स्वार्थ हुन्छ । नेपालको संवैधानिक सर्वोच्चता र कानूनी र संवैधानिक राज्यलाई संस्थागत गर्न ८ दलबीच अहिले समीकरण बनेको हो ।

एमाले लोकतन्त्रमा विश्वास गर्दैन हो ?

सर्वोच्च अदालतले समेत बेठिक छ भन्दाभन्दै एमालेले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेको हो । जुन संवैधानिक व्यवस्था हैन, तर पनि राष्ट्रपति र प्रधानमन्त्री मिलेर त्यो काम गर्नुभयो । त्यसैले मौका र परिस्थिति मिल्यो भने उहाँहरू संवैधानिक सर्वोच्चता र समावेशी प्रणालीलाई समाप्त गर्न तयार हुनुहुन्छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल आएपछि देश र जनताका समस्या समाधान हुन्छ त ?

नेतृत्वले असल नियतले गर्न चाह्यो भने सबै समाधान हुन्छ । हाम्रा प्रणाली धेरै बिग्रेका छन् । राजनीतिले राम्रो दिशा निर्देशन गर्नुपर्छ तर जो सबैभन्दा बढी जिम्मेवार हुनुपर्थ्यो उ नै भ्रष्ट भएको छ । जस्तै राष्ट्रको अभिभावक भनेर राष्ट्रपतिलाई लिन्छौँ हामी तर संविधानको विषयमा बदमासी राष्ट्रपतिबाट नै भएको छ ।

माधव नेपाल अबको साढे दुई वर्षपछि एक वर्षका लागि प्रधानमन्त्री बन्दै हो ?

दुई महिनाअघि भएको सहमति अहिले आएर भत्किएको छ । लोकतान्त्रिक गणतन्त्रउन्मुख व्यवस्थामा विश्वास गर्ने राजनीतिक दलहरूको बीचमा समीकरण बनेको कारणले यसको आयु लामो हुनुपर्छ । यो ५ वर्ष नै जाला । एग्रिमेन्ट जे छ, त्यो पूरा भयो भने माधव नेपाल प्रधानमन्त्री बन्न सक्नुहुन्छ ।

राजनीति भनेको आफूलाई फाइदा हुने खेल रहेछ है ?

राजनीति भन्नेबित्तिकै देशलाई केन्द्रमा राखेर त्यसलाई योग्य हुने खालका नीतिहरू बनाउनुपर्ने हो । तर, अहिलेसम्मको राजनीतिक संस्कार हेर्ने हो भने आज हामी सबैले आफूलाई केन्द्रमा राखेर समीकरण बनाउने गरेका छौँ ।

तपाईँलाई नेकपा एमालेलेको सत्ता बहिर्गमन भयो भन्ने लागेको छ ?

बहिर्गमन हुन्छ । मान्छेले चाहना राख्ने, रुचि राख्ने एउटा कुरा हो । तर व्यावहारिक रूपमा फरक कुरा हो । जस्तो आज केपी ओली र प्रचण्डबीच भएको सहमतिलाई नैतिकतासँग जोड्ने हो भने केपी ओली एकछिन पनि सरकारमा बस्दैनन् । केपीको एउटा योजना थियो । जस्तो, राष्ट्रपति आफ्नो बनाउने र त्यस पछि प्रधानमन्त्रीलाई सर्पोट गरेपछि आफ्नो स्वार्थ पूरा गर्ने हो, सरकारलाई सङ्कटमा पार्ने हो । त्यस पछि घण्टी पार्टी र आफ्नो पार्टीलाई एकता गरेर ठूलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्न प्रधानमन्त्री हुने दाउ थियो । राष्ट्रपति आफू, प्रधानमन्त्री आफू हुँदा, हिजो राष्ट्रपति र प्रधानमन्त्री मात्र हुँदा त के के गर्नु भयो सबैलाई थाहा नै छ । सभामुख सहित आफ्नो हुँदा के होला त्यो रोक्न प्रचण्डको ठूलो भूमिका रह्यो ।

अबको ५ वर्ष यो समीकरण जान्छ ?

राजनीतिक दलका नेताहरूमा इमानदारिता रह्यो भने यो जान्छ ।

 

प्रस्तुति- पुष्पाञ्जली बस्नेत