राजनीति

राष्ट्रियसभा बैठक : दुई विषयगत समितिको प्रतिवेदन पेस

By खबरहब

February 27, 2023

काठमाडौँ– राष्ट्रियसभामा दुई विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा समितिका सभापति डा बेदुराम भुसालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन प्रतिवेदन २०७८-०७९’ पेस गर्दै समितिका अधिकांश बैठक विधेयक निर्माणमा केन्द्रित भएको बताए। 

त्यस अवधिमा नौ वटा विधेयकसम्बन्धी प्रतिवेदन पारित भएको, ऐन कार्यान्वयन मापन तथा अध्ययन र अनुसन्धानअन्तर्गत तीन वटा प्रचलित ऐनको कार्यान्वयन मापन गरिएको जानकारी उनले गराए। 

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दीलकुमारी रावल थापा (पार्वती) ले उक्त समितिको वार्षिक प्रतिवेदन पेस गरिन् । उनले समितिको आर्थिक वर्ष २०७५-७६, २०७६-७७, २०७७-७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कनसम्बन्धी प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २९ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।