समाचार

असिनाले साढे दुई करोडको सुन्तला बालीमा क्षति

By खबरहब

February 27, 2023

गण्डकी– आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ ।

असिनाका कारण पालुवा पलाउँदै गरेका तथा फूल खेल्न थालेका सुन्तलाका बोटमा हाँगा, पात आदिमा नराम्रोसँग क्षति पुगेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

दोपहरे क्षेत्रमा करिब २० हजार सङ्ख्याका सुन्तलाका बोटबाट उत्पादन भइरहेको र बर्सेनि यहाँका स्थानीयले लगभग पाँच करोड आम्दानी गर्ने गरेको उनले बताए। महानगरपालिकाले उक्त क्षेत्रमा विगत चार वर्षयता सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमअन्तर्गत सहयोग पनि गरीरहेको छ ।

महाशाखा प्रमुख कडरियाका अनुसार असिनाका कारण यस क्षेत्रमा करिब साढे दुई करोडभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । प्रकृतिजन्य प्रकोपका कारण बर्सेनि कृषक मर्कामा परिरहेको बताउँदै उनले क्षतिको जोखिमलाई न्यूनीकरण गर्न कृषि बीमा गर्नुपर्नेमा जोड दिए ।