फाइल फाेटाे

समाचार

नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक हाे : सभामुख घिमिरे

By खबरहब

March 27, 2023

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन् ।

सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यसका लागि योगदान पुर्‍याउने नेपाल नेत्रज्योति संघ, चिकित्सकलगायतका सम्बन्धित सबै पक्षप्रति आभार पनि व्यक्त गरे । उनले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकका रूपमा विकास गर्न पनि नेपाल नेत्रज्योति संघलाई आग्रह गरे ।

संघले नेपालको दूरदराजमा पुगेर अन्धोपना हुनबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै सभामुख घिमिरेले सो कामका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालमा आँखा उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

त्यस अवसरमा सभामुख घिमिरेले गरिब जनताको घरदैलोमा पुगेर आँखाको उपचार गर्ने लक्ष्य प्राप्तिमा नेत्रज्योति संघलाई सफलता मिलोस भनि कामना समेत गरे । कार्यक्रममा आँखा उपचारको क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई सम्मान पनि गरिएको थियो ।