अन्तर्वार्ता

काठमाडौंमा नाटक गर्ने रहर

By खबरहब

May 27, 2023

नाट्यकर्मी ध्रुव लोहागणले सिक्किममा रहेर धेरै भन्दा धेरै नाटकसँगै पुस्तक लेख्नु भएको छ। रेडियो नाटकमा उहाँले प्रस्तुति दिनुभएको छ। उहाँका नाटकसँगै विभिन्न पुस्तकसमेत प्रकाशित छन्। पश्चिम सिक्किमको नयाँ बजारमा जन्मनुभएका उहाँ ६४ वर्षको हुनुभयो। उहाँ नेपाल, सिक्किम र दार्जिलिङको सम्बन्धलाई विशेष मान्नुहुन्छ। सिक्किमको नाट्य कर्म र उहाँको जीवनसँग जोडिएका विविध पक्ष छन्। नेपाल र भारतको साइनो, नाट्यकर्मको विषयमा ध्रुव लोहागणसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश:

नेपाल आइपुग्दा कहाँकहाँ घुम्नु हुन्छ ? मलाई नेपाल ल्याउने प्रकाश सायमीज्यू हो। उहाँसँग २०७७ सालको भेटमा नै परिचय भएको थियो। त्यसपछि हामीले सल्लाह गरेर सिक्किमबाट नै नेपाली चलचित्र ‘रानी खोला’ बनाउने निर्णय लिएका थियौं। त्यसको निर्देशन सायमीले गर्नुभयो। त्यसको पटकथा लेख्ने जिम्मेवारी मलाई दिइएको थियो। मुख्य खलनायकको भूमिका पनि मैले नै गरेको हुँ। त्यो समयमा रानी खोलाको सिलसिलामा नेपाल आएँ। असली नक्कली भन्ने टेलिश्रृखला बनाएका छौँ। नेपाली भाषामा आएको हो। इडिटिङको जमाना त्यो समयमा थिएन। परिवार नै आएर धेरै धार्मिकस्थल घुमघाम गरेका छौँ। सन १९९१ म परिवारसँग आएर पुरै नेपाल घुमेको छु।

यो भन्दा अगाडि काठमाडौँ कहिले आउनु भएको थियो ? रानी खोलाको डबिङको समयमा १९९७ देखि यता आएको छैन।

२५-२६ वर्ष नेपाल नआएको कारण खासमा के हो ? एक म जागिरे हुँ। वन विभागको अधिकारी हुँ। धेरै समय निकालेर कला कृतिको काममा खटेको त्यसमा बिदा पनि लिनु परेको थियो। जसकारण धेरै बिदा लिन उचित ठानिन। त्यसकारण आफैलाई असहज भएको हो। काठमाडौंसँग सरकारी जागिरेले गर्दा नै त्यति आउन दिइएन। लोभ भने लाग्ने हुन्थ्यो। काठमाडौंमा नाटक खेलौँ, काठमाडौंमा सिनेमा खेलौँ भन्ने इच्छालाई मार्नु परेको थियो। आउने रहर हुँदाहुँदै आउन पाइन। अहिले पनि पशुपतिनाथले मलाई ल्याइदिनु भएको छ।

नाटक खेल्न के ले प्रेरित गरेको थियो ? म सानैदेखि नाच्नु पर्ने गाउनु पर्ने खालको मान्छे हुँ। माहौल पनि त्यही अनुरूप थियो। म सानैदेखि नै खेदै गएको हुँ। हरेक वर्ष पिच्छे नाटक गर्दै गएको थिएँ। स्कुलमा नै त्यो बेलामा नै नाटक लेख्न मन लाग्यो। लेख्न पनि थालेँ। विस्तारै पूर्णाकी नाटक लेख्न थाले। एउटा बहुला भन्ने नाटक लेखेर गरेको थिएँ। त्यसक्रममा अगाडि बढ्दै गएको हो। पहिलो नाटक बिहानी हुनु अगावै, इलाममा पनि मैले अभिनय गरेको छु। अहिलेसम्म पनि निरन्तर गरिरहेको छु।

तपाईं नाटक कुन कुन भाषामा देखाउनु हुन्छ ? मैले सबै नाटक नेपालीमा नै देखाउने गरेको छु।

तपाईंको दखलता कुन कुन भाषामा रहेको छ ? सबै नेपालीमा नै हो। एउटा नाटक हिन्दीमा लेखेको छु। अरू मेरा जति किताब छन् ती सबै नेपालीमा नै रहेका छन्। जति निर्देशन र मञ्चन गरेँ सबै नेपालीमा नै छन्।

नेपालमा आएर नाटक खेल्नु पर्दा भाषाले असजिलो बनाउँछ कि कस्तो हुँदो रहेछ। सिक्किम र नेपालमा यो नाटकको भाषालाई उच्चारण गर्दा एउटै हुन्छ कि फरक पाउनु भयो ? हामीले जुन संवाद लेखेर ल्याएको हुन्छ नेपालमा बनेको नाटक सिक्किम गएमा हामी सहज रूपमा नै बुझ्न सक्छौं। कुनै असहज पर्दैन। त्यसमा दुबिधा र सुविधा केही असहज हुँदैन। दुई देशमा खासै फरक पर्दैन।

तपाईंले अहिलेसम्म कति वटा नाटक खेल्नु तथा लेख्नुभयो ? २४-२५ वटा नाटक त मैले लेखेँ। त्यसमा छोटाछोटा नाटक पनि आउँछन्। त्यसमा एउटा अगे्रजी नाटक पनि लेखेको छु। त्यो मञ्चन पनि भएको छ। एकाङकी मेरा चार वटा मात्र हुन। मेरो रुचिको विषय अभिनय नै हो। त्यसमा ध्यान दिएर लागेको कारण यहाँसम्म आएको छु।

सिक्किममा कत्तिको चलचित्र बनेको पाउनुहुन्छ ? पहिले धेरै बनेको पाइन्थ्यो। अहिले भने धेरै बनेका छैनन। थोरै बने पनि धेरै हिट हुने फिल्म बनेका छन्। अहिलेको समयमा धेरै बनेका छैनन्। अहिले कबड्डी-६ बन्दै छ। खासै पहिलेको जस्तो रूपमा नआएको जस्तो लाग्छ। सिक्किममा फिल्मको त्यति लामो इतिहास छैन। पहिलो फिल्म नै मसाल हो। अहिले कम संख्यामा बनेको पाइन्छ। सिक्किममा भएका हल हातको ५ औँलामा गन्ने जति पनि छैनन्।

अहिले सिक्किमको साहित्य, कला र नाटकको अवस्था कस्तो छ ? त्यसलाई कायम राख्नको लागि कतिको चुनौती छ ? सिक्किममा नाटक पनि पहिला पहिला धेरै भयो। अहिले नाटक प्राय हुनै छोडेको छ भन्दा हुन्छ। मैले अन्तिम नाटक २०१६ मा हास्य नाटक गरेको थिएँ। त्यसपछि सिक्किममा नाटक भएको नै थाहा छैन। नयाँ पुस्ता पनि दत्तचित भएर नाटकलाई नै मेरो बनाउँछु भनेर नाटकमा लागि परेको मैले कोही पनि देखेको छैन। सिक्किममा कतिपय विभागले सचेतनाको लागि नाटक बनाउने गरेका छन्। त्यो नाटक बनाएबापत पैसा दिन्छन्।

२०१६ पछि नाटकको जीवन नै भएको जस्तो देखिएन ? हाम्रोमा नाटक मञ्चन गर्न उपयुक्त थिएर्टर नै छैन।

तपाईंलाई नेपाल आउँदा विदेश आए जस्तो लाग्छ कि ? त्यस्तो केही पनि लाग्दैन। साथीभाइ छन्। त्यही भाषा, त्यही खानपिन तेही लवाज त्यही संस्कार हो। त्यही भएर केही फरक जस्तो लाग्दैन।

नाटकमा भाव प्रकट गर्दा के कुरा बढी महत्त्वपूर्ण हुने रहेछ ? हामी खास सामाजिक नाटक लेख्ने मान्छे हौं। हामी ऐतिहासिक नाटक लेख्दैनौ। समाजका विसङ्गती, समाजमा अन्याय भइरहेको छ। समाज लुटिएको छ। समाज हेपिएको कुरालाई लिएर लेख्ने गरेको छु। त्यसमा रोधन मात्र नभए हास्य नाटक गरेको छु।

कहिलेकाही नेपाल आएर नेपाली नाटकमा खेलौँ जस्तो लाग्दैन ? सारै लोभ लाग्छ। नेपालमा आएर गर्न पाए हुन्थ्यो जस्तो हुन्छ। मौका खोज्यो भने पाइन्छ समय नै नमिलेको हो। नेपालमा आएर आफ्नै निर्देशनमा नाटक गर्ने ठूलो रहर छ। मेरो जीवनको यो एउटा अन्तिम लक्ष्य नै हो। यसलाई पूरा गर्ने मन छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : कुसुम गौतम