अन्तर्वार्ता

देशलाई संकटमुक्त गर्न समाजवादी मोर्चा बन्यो

By खबरहब

June 27, 2023

गत असार ४ गते चार राजनीतिक दलहरू मिलेर समाजवादी मोर्चाको घोषणा गरेका छन्। आखिर यो मोर्चाको औचित्य के, सान्दर्भिकता के र यसले नेपाली जनतालाई के दिन्छ ? यी र यस्तै विषयमा आधारित रहेर नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल कम्युनिस्ट पार्टीको क्रान्तिकारी धङधङी आखिरीमा संसदीय मोर्चामा गएर अवतरित भयो होइन ? असार ४ गते हामीले समाजवादी मोर्चा घोषणा गरेका छौं। यसअघि हामीले जुन परिकल्पना गरेका थियौँ त्यसले विधिवत् रूपमा राष्ट्रिय राजनीतिमा ठुलो तरंग र बहस ल्याएको छ। त्यो बहसको एउटा पाटो यो नेपाल कम्युनिस्ट पार्टीको क्रान्तिकारी धङधङी आखिरीमा संसदीय मोर्चामा गएर अवतरित भयो भन्ने होला, तर त्यो सत्य होइन।

देश अहिले धेरै अप्ठेरोमा छ। जनताका अधिकार धेरै कटौती हुँदै गएका छन्। यो संकटबाट देशलाई निकाल्न जिम्मेवारी पूर्ण भावना र समाजलाई परिवर्तन गर्ने नीति लिनुपर्छ भनेर हामीले मोर्चा बनाएका हौँ।

अमेरिकी साम्राज्यवादको घरेलु संस्करणसँगको मिलेमतोको अर्थ के हो ? यो राज्यको विशेषता नै दलाल पुँजीवादी भएपछि सबै दलहरू योबाट मुक्त छैनन्। अहिलेको यो समस्या जन्माएको हामीले होइन। तर यो समस्या विगतदेखि नै उठेको हो त्यसलाई हामी त समाधान गर्न आएका हौँ। अब यो देशका पार्टीले विगतका कुरालाई सुधारेर नजाने हो भने यो देशको अस्तित्व रहँदैन। त्यसको उपचार पद्धतिको रूपमा हामी सबै सहमत भएर यो समाजवादी मोर्चा ल्याएका हौँ।

तपाईंहरुले अहिले सहकार्य गर्नु भएको छ। उनीहरु नै समस्याको कारकहरू हुन् भनिन्छ र त्यही समस्याको कारकसँग मिलेर समस्याको समाधान दिन्छौँ भन्ने झुट किन ? हामीले सबै राजनीतिक पार्टीहरूलाई समीक्षा गर्नुहोस् भनेका छौँ। विगतमा उहाँहरूले गरेका कामहरूको देश र जनतामा के प्रभाव पर्यो भनेर समीक्षा गर्नुहोस् भनेका छौँ। सकारात्मक प्रभाव पर्यो भने राम्रो र नकारात्मक पर्यो भने त्यसलाई सुधारेर आफूलाई नयाँ ढंगले लिएर अगाडि जानुपर्छ। त्यसरी अगाडि नबढे तपाईंहरूको राजनीतिक भविष्य छैन भनेका छौँ। विगतमा संसदीय मोर्चामा भएका राजनीतिक पार्टीलाई अहिले अग्रगामी मोर्चा, क्रान्तिकारी मोर्चा, प्रगतिशील मोर्चाको नेतृत्व गर्ने समाजवादी मोर्चामा आएका हो।

नेता अ-आफ्नै दाउ लगाएर यो मोर्चामा गइरहेका छन् भन्ने आरोप छ नि ? यो आरोप नेपाली जनताको होइन। अहिले पनि संसदीय राजनीतिमा भएका विगतमा जस्तै अस्वस्थ प्रतिस्पर्धा गरेका, दुस्मनीपूर्ण अभिव्यक्ति गरेका राजनीतिक पार्टीका मान्छेहरूको अभिव्यक्ति हो। यो कुरासँग सत्यता छैन।

यो समाजवादी मोर्चाको लक्ष्य के हो ? नेपालमा दलाल पुँजीवादी राज्य व्यवस्था शासन सत्ता र त्यसका सञ्चालकले देसलाई यो संकटको भुमरीमा पारे। यहाँबाट देशलाई निकाल्न नेपाल कम्युनिस्ट पार्टीसहितको समाजवादी मोर्चा बनेको हो। जसले आफ्नो कार्यक्रम अहिलेको यो व्यवस्थालाई परिवर्तन गरेर समाजवादी गणतन्त्रात्मक राज्य व्यवस्था स्थापना गर्ने र यी सबै समस्याको समाधान गर्ने रूपमा अगाडि बढाएको छ।

यो समाजवादी मोर्चामा डा. बाबुराम भट्टराई किन छुट्नु भयो ? यो सैद्धान्तिक र राजनीतिक दृष्टिले समाजवादी मोर्चामा बाबुराम भट्टराई आउन तयार हुनुहुन्छ। हामीले हस्ताक्षर गरेको सहमति पत्रलाई आधार मानेर हेर्दा बाबुरामलाई उपस्थित हुन कुनै समस्या छैन। हाम्रो तयारी पुगेन। त्यसमा विगतका तृक्तताले पनि ठाउँ पाएका छन्।

यो समाजवादी मोर्चाले के गर्ने हो ? नेतृत्वमा विवाद कामयमै होला होइन ? यो मोर्चामा सहभागी भएका मुख्य नेतृत्वले पालैपालो समाजवादी मोर्चाको नेतृत्व गर्ने भनेर हामीले भनेका छौँ। यो मोर्चाले यो राष्ट्रको स्वाधीनताको पक्षमा पहल गर्छ। जनपरिचालन गर्छ। सरकार र हाउसलाई खबरदारी गर्छ। अब प्रचण्डजीले यो मोर्चालाई सशक्त पार्नुपर्छ। कसैले त्यो काम नगरे हामी उहाँहरुलाई खबरदारी गर्छौँ। उहाँले विगतका घटना दोहोर्याउन पाउनु हुन्न। विदेशी हस्तक्षेपको विरुद्धमा बनाएको मोर्चा हो यो। भ्रष्टाचारलाई उन्मुलन गर्न यो मोर्चा सरकार र सडकबाट अगाडि बढ्छ।

यो मोर्चाको वैधानिकता कहाँ छ ? यो मोर्चा आफैमा वैधानिक छ। वैधानिकताको विषयमा प्रश्न गर्नुपर्ने आवश्यकता नै छैन। किनभने यसमा प्रधानमन्त्री आफै हुनुहुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)