अन्तर्वार्ता

‘राज्यलाई नागरिकप्रति जिम्मेवार बनाउन समाजवादी मोर्चा’

By खबरहब

June 27, 2023

अहिले सत्ता गठबन्धनका चार दलले बनाएको समाजवादी मोर्चा र त्यसको आवश्यकताका के हुन् ? यो मोर्चा किन बन्यो ? मोर्चाका उद्देश्य के के छन् ? के साच्चै मोर्चा समाजवादका लागि नै बनेको हो त ? यसै विषयमा आधारित रहेर जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनसँग गोविन्द खड्काले गरेको कुराकानीको सम्पादित अंश :

यो मोर्चा बनाउन किन आवश्यकता पर्याे ?

समाजलाई साँच्चै समाजवादी बनाउने उद्देश्यले यो देशमा शिक्षा, स्वास्थ्य शत प्रतिशत निशुल्क गराउन, नागरिकका सामान्य सुविधाहरू राज्यको तर्फबाट हुनका लागि एउटा सिस्टम ल्याउनलाई समाजवादीमा मोर्चा बनाइएको हो । समाजका सम्पूर्ण व्यक्तिको दायित्व राज्यले नै लिने बनाउन यो मोर्चा ल्याएका हौँ । राज्यलाई नागरिक प्रति जिम्मेवार बनाउन माेर्चा बनाएका हौँ । यो मोर्चा कांग्रेसको सल्लाहमा नै बनेको हो । यसमा आउन सबैलाई बाटो खुल्ला छ ।

तपाईहरू संसदभित्र खुम्चिँदै हुनुहुन्छ, त्यही भएर मोर्चा बनाएको भन्ने देखिन्छ नि बाहिर ?

यो मोर्चा मंसिर ४ को निर्वाचनभन्दा अगाडिदेखिको योजना हो । त्यसैले यो तत्काल भएको निर्णय हैन । देशमा एउटा स्थिर सरकार चाहिएको छ । जनताले नै दुई वा सो भन्दा बढी दल मिलेर देश चलाउन भनेका छन् । त्यस कारण कसैले पनि एकल बहुमत ल्याएका छैनन् । अहिलेको प्रतिनिधिसभामा धेरै दलको अस्तित्व छ । कांग्रेसका नेता देउवा यो गठबन्धनको अभिभावक भएर काम गर्नु भएको छ । देउवा र प्रचण्डबीच कुनै प्रकारको मत विभाजन छैन । अर्काे गठबन्धनको कल्पना अहिले गर्नु बेकार हो ।

तपाईहरू बाहेक तीन वटा पार्टी जो आफूलाई कम्युनिस्ट भन्छन्, यो लोकतान्त्रिक समाजवादी मोर्चा हो कि कम्युनिस्ट समाजवादी मोर्चा हो त ?

कम्युनिस्ट भनेको जसले माक्र्सलाइ राम्ररी अध्ययन गरेको छ जसले लेनिनलाइ अध्ययन गरेको छ, त्यो हो । यदि त्यसो भयो भने त्यो अत्यन्त सुन्दर कुरा हो । नेकपा भन्दैमा कम्युनिस्ट भन्ने हुँदैन । नाम राख्दैमा केही हुँदैन । जनता समाजवादी पार्टी कम्युनिस्ट हैन । हामी समाजवादी लोकतान्त्रिक पार्टी हौँ । हामी संसदीय व्यवस्थामा लामो सङ्गत गर्ने पार्टीहरू हौँ । माओवादीहरूसँग लामो सङ्गत भएका पार्टीहरू हौँ । तर विप्लव संसदीय व्यवस्था नै नमान्ने पार्टी पनि मिल्नु भयो, त्यो पनि राम्रो हो । त्यसैले आफ्ना मूल कुराहरू आफूमा नै सीमित राख्दै हामी समाजवादउन्मुख समाज निर्माण गर्ने उद्देश्यका साथ यो मोर्चा निर्माण गरेको छौँ । यो कुनै एकीकरण हैन ।

यो मोर्चा कहिले सम्म मोर्चा भएर रहन्छ त ?

हामीले समाज परिर्वतन नगरेसम्म यो मोर्चा रहन्छ । तर, भोलिको दिनमा केही भयो भने भन्न सकिँदैन ।

तपाईँहरूले मधेसमा रहेका सबै दलहरूको एउटा मोर्चा बनाउँदा एक वर्ष पनि टिकेनन् नि ?

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरू कालान्तरमा आफैँ एक भए, कि त बिलाएर गए । नभए पार्टी नै एकीकरण भयो । अर्थात् मधेसमा भएका क्रियाशील सबै पार्टीहरू  आफैँमाएक भए, त्यो त मोर्चाको उपलब्धि थियो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफैँ काम गर्दै जाँदा एक दिन आफूलाई एकतामा परिणत गर्‍यो ।

तपाईँहरूमा सङ्घीय भन्दा पनि मधेस प्रदेशको सत्तामा यो मोर्चासँग जोडियो भने फाइदा हुन्छ र जनमत पार्टी, सीके राउतलाई ठिक पार्न सक्छौँ भन्ने उद्देश्य छरे नि ?

यो मोर्चा पहिला घोषण हुँदा कुनै सरकारलाई समस्या थिएन । मधेस प्रदेश सरकारले त ३० गते मात्र संसद्को शत प्रतिशत विश्वासको मत हासिल गरेको रहेछ । त्यसो हुँदा त्यो सरकारलाई कुनै सङ्कट नै थिएन, त्यसैगरी यो सरकारलाई पनि कुनै सङ्कट छैन ।

अहिले हाम्रो पार्टी सरकारमा नभएको भए यो देशमा मध्यावधि हुन्थ्यो । हामीले बार्गेनिङ गरेको भए प्रधानमन्त्री पनि बन्न सक्थ्यौँ । हामीले अलिकति र्‍याल चुहायौँ भने उपेन्द्र यादव यो देशको पहिलो मधेसको प्रधानमन्त्री बन्न सक्नुहुन्छ । तर, हामी निष्ठा र सिद्धान्तको आधारमा राजनीति गर्छौँ ।

यो मोर्चा सत्ता र शक्तिका वरिपरि मात्र केन्द्रित हुँदैन साँच्चै समाजवाद उन्मुख हुन्छ भन्ने सङ्केत तपाईँहरूले सीमा, नागरिकका सवालसँगका कुराहरू आफ्नो घोषणा पत्रमा राख्नु भएको छ त्यो कुरा नागरिकले कहिले हेर्ने र अनुभूत गर्न सक्छन् ?

अब मोर्चाको निर्णय अनुसार प्रधानमन्त्रीले हाम्रा कुराहरू मान्नुहुन्छ र यो समाजवाद तर्फ उन्मुख हुन्छ ।