समाचार

पृतनापति ट्रफी तेघरीको देवीदल गणलाई

By खबरहब

August 27, 2023

महेन्द्रनगर- नेपाली सेनाद्वारा आयोजित सुदूरपश्चिम पृतना ट्रफी–२०८० को उपाधि कैलालीको तेघरीस्थित देवीदल गणले जितेको छ । यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त ट्रफी प्रतियोगितामा बक्सिङ, फुटबल, बास्केटबल र पौडी विधामा देवीदल गणले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

यस्तै अछामस्थित गोरखबक्स गण द्वितीय तथा डोटीमा रहेको भैरवप्रसाद गण तृतीय भयो । गोरखबक्स गण भलिबल, एथ्लेटिक्स र तेक्वान्दो विधामा पहिलो स्थान हासिल गर्दै उपविजेता बन्यो ।

कैलालीको धनगढीस्थित तेघरी ब्यारेकमा आज आयोजित ट्रफी समापन समारोहमा सुदूरपश्चिम पृतनाका निमित्त पृतनापति सहायक रथी सुरत रावलले उपाधी तथा विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत श्री नंं २५ बाहिनी अड्डाले भलिबल, बक्सिङ र पौडी सञ्चालन गरेको थियो भने श्री नं ५ बाहिनी अड्डाले बास्केटबल, एथ्लेटिक्स, फुटबल, तेक्वान्दो लगायतका खेल सञ्चालन गरेको थियो ।

प्रतियोगिताका पदक विजेता खेलाडीलाई सुदूरपश्चिम पृतनाका चिफ आफ स्टाफ सहायक रथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज थापालगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

ट्रफी अन्तर्गत श्री नं ५ र २५ बाहिनी अन्तर्गत विभिन्न गण तथा गुल्मको संयोजनमा भलिबल, फुटबल, पौडी, बक्सिङ, बास्केटबल लगायतका खेल खेलाइएका थिए ।

समापन समारोहमा निमित्त पृतनापति रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी थापा, श्री नं ५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी दिपेशजङ्ग शाहलगायत विभिन्न गण तथा गुल्मपति र सैनिक अधिृकतको सहभागिता रहेको थियो ।

नेपाली सेनाले खेलाडीमा सामूहिक भावनाको विकास गर्न तथा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्पोर्ट्स फर फ्रेन्डसिपका लागि बर्सेनि ट्रफी प्रतियोगिता आयोजना गर्दै आएको छ ।