फाइल तस्वीर

क्रिकेट

एसिया कप खेल्न सन्दीप लामिछाने सोमबार पाकिस्तान जाने

By खबरहब

August 27, 2023

काठमाडौँ- एसिया कप खेल्न राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने सोमबार पाकिस्तान जाने भएका छन् ।

लामिछाने प्रतिवादी रहेको बलात्कार मुद्दामा आइतबार पेसी तोकिएपनि हेर्न नभ्याइनेमा परेपछि उनी सोमबार पाकिस्तान प्रस्थान गर्न लागेका हुन् । उनको मुद्दामा अर्को पेसी भदौ २१ गतेका लागि तोकिएको छ ।

नेपाली क्रिकेट टिमका अन्य सदस्यहरु भने यसअघि नै पाकिस्तान पुगिसकेका छन् । एसिया कप यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ ।

पहिलोपटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कामा खेल्नेछ ।

नेपाल र पाकिस्तानबीचको पहिलो खेल यही भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल भने श्रीलङ्कामा हुनेछ । उक्त खेल भदौ १८ गते हुनेछ ।