फाइल तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

‘पाकिस्तानी तालिबानको जोखिम बढ्यो’

By खबरहब

September 27, 2023

इस्लामावाद- पाकिस्तानमा सक्रिय लडाकु संगठन तहरिक ए तालिबान पाकिस्तानबाट उत्पन्न हुने सुरक्षा जोखिम बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । हालै पाकिस्तानी तालिबानले मुलुकको सुदूर उत्तरी चित्राल क्षेत्रमा आक्रमण गरेको थियो ।

अल अरेबियाका अनुसार यस क्षेत्रलाई तुलनात्मक रुपमा स्थीर मानिन्छ । सो क्षेत्रमा सन् २०११ यता लडाकु गतिविधि देखिएको थिएन । यस क्षेत्रमा गत सेप्टेम्बर ६ का दिन अफगानिस्तानबाट घुसपैठ गरेका तालिबान लडाकुले सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए ।

सुरक्षा कारवाहीपछि उनीहरु अफगानिस्तान नै फर्केको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पाकिस्तानी सेनाले घटनाबारे विस्तृत विवरण नदिएपनि सयौँको सङ्ख्यामा आएका लडाकुले सुरक्षाकर्मीमाथि आक्रमण गरेको बताइएको छ ।

अफगानिस्तानसँगको दुर्गम सीमावर्ती क्षेत्रमा पाकिस्तानी तालिबानका लडाकुहरु भेला हुने गरेको र अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले लडाकुलाई निस्तेज बनाउन असफल भएको पाकिस्तानी पक्षको भनाइ छ । भौगोलिक विकटता र सीमित क्षमताका कारण पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमालाई अझै सुरक्षित बनाउन नसकेको विश्लेषण गरिएको छ ।