समाचार

रास्वपाको केन्द्रीय समिति बैठक आजदेखि जलेश्वरमा

By खबरहब

November 27, 2023

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ ।

महोत्तरीको जलेश्वरमा बुधबारसम्म बस्ने केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकमा सातवटै प्रदेशका सभापतिहरुसमेत सहभागी हुनेछन् ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

त्यस्तै सांसदहरू र संसदीय कार्य समीक्षा, महाधिवेशनको विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप तथा पार्टीले अवलम्बन गर्ने नीतिका बारेमा छलफल हुने रास्वपाले जनाएको छ ।

यसअघि कात्तिक २२ र २३ गतेका लागि राखिएको बैठक जाजरकोटमा भूकम्प गएर जनधनको क्षति भएपछि स्थगित भएको थियो ।

रास्वपाले यही मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गरेको थियो । आमनिर्वाचन भएको एकवर्ष भएको अवसरमा रास्वपाका सांसद तथा उम्मेदवारहरूले घरदैलो कार्यक्रम गरेका थिए ।