खेलकुद

कुशलको अलराउण्ड प्रदर्शनमा आयोजकमाथि आर्मीको फराकिलो जित

By खबरहब

November 27, 2023

काठमाडौं – त्रिभुवन आर्मी क्लबले केपी ओली कप टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । आयोजक मदन भण्डारी स्पोर्टस क्लब निलोमाथि ११० रनको फराकिलो जित निकाल्दै  आर्मीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

पोखरा रङ्गशालामा टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।आर्मीले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्टस एकेडेमी निलो १५.४ ओभरमा ८५ रनमा अलआउट भयो ।

मदनभण्डारी स्पोर्टस एकेडेमीको लागि कप्तान निर्भिक पाठकले सर्वाधिक २८ रन बनाए । ओपनर रोनिम तिवारीले १५, रनवीर यादवले १६ तथा सेमन रोयले १० रन बनाए । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । जितेन्द्र मुखिया र साहब आलमले २-२ विकेट लिए । विवेक यादव र रोहित पौडेलले १-१ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको आर्मीका लागि ओपनर सन्तोष कार्कीले ४१ रन बनाए । कप्तान विनोद भण्डारीले ३८, वसिर अहमदले २३, कुशल मल्ल २५, रोहित पौडेलले १२ रन बनाए ।

विवेक यादव २९ रनमा तथा भीम सार्की ६ रनमा अविजित रहे । मदनभण्डारीका मेहोल श्रेष्ठले २ तथा कौशल रुपाखेती र धावन सहनीले १-१ विकेट लिए ।

आजै भएको पहिलो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित निकालेको थियो ।