खेलकुद

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

By खबरहब

December 27, 2023

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि रोमाञ्चक जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा एस्टन भिल्लालाई ३–२ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड विजयी भएको हो ।

खेलको पहिलो हाफमा २–० गोलले पछि परेको म्यानचेस्टरले दोस्रो हाफमा ३ गोल गरेको थियो ।

खेलमा पहिलो हाफको २१औँ मिनेटमामा भिल्लाका जोन म्याकगीनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २६औँ मिनेटमा भिल्लाकै लीन्डर डेनडोंकरले एक गोल थप्दै टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

दोस्रा हाफको ५९औँ र ७१औँ मिनेटमा म्यानचेस्टरका अलेजान्द्रो गार्नाचोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि ८२औँ मिनेटमा रासमस होजलण्डले निर्णायक गोल गर्दै टोलीलाई ३–२ गोलको जित दिलाए ।

यो जितसँगै १९ खेलबाट ३१ अंक बनाएको म्यानचेस्टर युनाइटेड तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको एस्टन भिल्ला ३९ अंकसहित तेस्रो स्थानमा छ ।