देश/प्रदेश

पर्यटकको गन्तव्य बन्दै पचघैया प्राणी उद्यान केन्द्र

By खबरहब

December 27, 2023

गण्डकी– गण्डकी प्रदेश सरकारको गौरवको आयोजना पचघैया प्राणी उद्यान केन्द्रमा पर्यटकको आकर्षण बढेको छ । पोखरा महानगरपालिकाका तीन वडा समेटेर निर्माण गरी सञ्चालनमा आएको उद्यान केन्द्र सर्वसाधारणका लागि खुला गरिएसँगै सो क्षेत्र पर्यटकीय रोजाइमा परेको हो ।

लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर निर्माण गरिएको केन्द्रमा विभिन्न २३ प्रजातिका पशु तथा चराचुरुङ्गीको प्रदर्शन गरिएको छ ।  सो उद्यान केन्द्रको एक वर्षको अवधिमा सात हजारभन्दा बढी पर्यटकले अध्ययन अवलोकन गरेका उद्यान व्यवस्थापन समितिका अध्यक्ष दीननाथ ढकालले जानकारी दिए ।

उद्यान केन्द्रमा चितुवा, नीलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा, बाँदर, खरायोलगायत २३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउनेछन् । बृहत् पोखराको अवधारणाअनुसार स्थापना गरी सञ्चालनमा आएको उक्त केन्द्रले २०७९ साल पुसदेखि खुला गरिएको केन्द्रले टिकट बिक्रीबाट रु एक लाख ८४ हजार एक सय ९० आम्दानी गरेको उनले बताए।

अवलोकन गर्नेमा विद्यार्थीको सङ्ख्या बढी छ । प्रदेश सरकारको व्यवस्थापनमा डिभिजन वन कार्यालय कास्कीले हेर्नेगरी स्थानीयवासी, वन उपभोक्ता समिति र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा १५ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको उनको भनाइ छ । 

गण्डकी प्रदेश सरकारले यस आवका लागि कुल रु ८२ लाख बजेट विनियोजन गरेको जनाउँदै उनले यो रकमबाट रु ४० लाख वन्यजन्तु र पक्षीको आहारा र अन्य व्यवस्थापनामा खर्च हुने र रु ४२ लाख खोर मर्मत तथा आवश्यक भौतिक निर्माणमा लगानी गरिने बताए ।