काठमाडौं– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
मोरङकाे बिराटनगर महानगरपालिका- १५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८६ मिलिग्रामसहित खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका- ४ बस्ने २५ वर्षीय मिलन राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यसैगरी, मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका- १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित थाहा नगरपालिका- ११ बज्रबाराही बस्ने २५ वर्षीय सबिन गुरुङलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना ८ ख ७५०४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई राखेको उक्त गाँजा फेला पारी चालक गुरुङलाई पक्राउ गरेको हो ।
त्यस्तै, कञ्चनपुरकाे भिमदत्त नगरपालिका- ४ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ मिलिग्रामसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका-६ बनगाउँ बस्ने २८ वर्षीय बिनोद भुजेल र २३ वर्षीय राजिब चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।