तस्विर रोयटर्स

अन्तर्राष्ट्रिय

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव 

By खबरहब

December 27, 2023

नयाँदिल्ली– नयाँदिल्लीस्थित इजरायली दूतावास नजिकै मंगलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ । 

दिल्ली प्रहरीलाई मंगलबार आएको फोनमा मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै विस्फोट भएको जानकारी दिइएको थियो । 

विस्फोटपछि दूतावास नजिकै इजराइली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । दिल्ली प्रहरीले फरेन्सिक प्रमाणका लागि सान्दर्भिक प्रमाण पठाएको छ । 

भारतका लागि इजरायली उपराजदूत ओहद नकास कायनारले दूतावासका कर्मचारी र कूटनीतिज्ञहरू सुरक्षित रहेको र आफ्नो सुरक्षा दलले घटनाबारे अनुसन्धान गरिरहेको मंगलबार बताएका थिए ।

इजरायली राष्ट्रिय सुरक्षा परिषद्ले बम विस्फोटलाई सम्भवतः आक्रमणको स्वरूप भएको बताएको छ । भारतमा बसोबास गर्ने इजरायलीहरूलाई परिषद्ले सल्लाह दिँदै भनेको छ, मल, बजार तथा पश्चिमी-यहुदीले प्रयोग गर्ने स्थानतर्फ नजान प्रयास गर्नुहोला ।’

परिषद्ले इजरायलीहरूलाई बाहिरी आक्रमणबाट बच्नका लागि रेस्टुरेन्ट, होटल तथा बारसहित धेरै सार्वजनिक स्थानमा नजान तथा कार्यक्रममा भाग नलिन पनि आग्रह गरेको छ ।