अन्तर्राष्ट्रिय

अलकायदापछि आइएसको अस्तित्व जोखिममा

By मनोज घिमिरे

January 28, 2023

काठमाडौँ : नसोचिएका गतिविधि गर्दै अमेरिकालाई पनि तर्साएको अलकायदाको शक्ति सकिएपछि मध्यपूर्व लगायत अन्य इस्लाम देशमा प्रभाव जमाइ रहेको आइएस अर्थात इस्लामिक स्टेटलाई समेत धक्का लागेको छ । अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता बिहाल अतल सुडानी तथा उनका १० जना आफन्तलाई मारेको बताएको छ ।

उत्तरी सोमालियामा भएको झडपमा यत्ति धेरै जना मारिएका हुन् । दुर्गम पहाडी भेगको एउटा गुफामा लुकी रहेको अवस्थामा उनलाई अमेरिकी सेनाले पत्तो लगाएर मारेको हो । पछिल्लो समय अफ्रिकाका इस्लामिक स्टेटको बढ्दो गतिविधिमा उनको भूमिका मुख्य रहेको जनाइएको छ ।

संसारमै भएको आइएसको गतिविधिमा पनि उनको भूमिका रहेको जनाइएको छ । उनको स्थान पहिचान भइसके पछि ड्रोन हमला नगरेर उनलाई मार्न या गिरफ्तार गर्नकै लागि अमेरिकी सेना त्यहाँ पुगेको थियो ।

पछिल्लो समय इस्लामिक स्टेटले केही अफ्रिकी देशमा आफ्नो गतिविधि बढाइरहेको छ । मोजाम्बीक र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस किसिमको गतिविधि भइरहेको छ । सोमालियामा इस्लामिक स्टेटको गतिविधि तुलनात्मक रूपले कम छ । त्यहाँ अलका दासँग सम्बन्धित रहेको अतल साहबको उपस्थिति बढ्दो छ । सोमालियाको दक्षिणी क्षेत्रमा अतल साहबको प्रभाव बढी छ ।

सोमालियामा पछिल्लो समय अतल साहब र इस्लामिक स्टेटको बिचमा सहकार्य चलिरहेको थियो । खासमा यिनीहरू दुवै बिच सैन्य अभ्यासमा सहकार्य चलेको छ । सुडानीमाथि ती सबै गतिविधिका लागि आर्थिक श्रोत जुटाएको आरोप पनि लागेको थियो । साथै दक्ष जनशक्ति निर्माणमा पनि सहयोग गरेका कारण पनि उनी अमेरिकाको मुख्य निसानामा थिए ।

सुडानीलाई मार्नका लागि अमेरिकी गुप्तचर निकाय र सेनाले एक महिना देखि योजना बुनेको थियो । अमेरिकी सञ्चार माध्यमले सोमालियाली जनताले सुडानीको मृत्यु पछि त्यहाँ खुसियाली मनाइएको समेत जनाएका छन् । अनुसन्धानकर्ता डिनो हमतानीका अनुसार सन् २०१० को मध्य देखि उनको गतिविधि एकदमै बढेको थियो ।

उत्तरी सोमालियाका साथै कङ्गोका हतियार तस्करीमा उनको भूमिका मुख्य भएको गुप्तचर निकायले पत्ता लगाए पछि उनी निसानामा परेका थिए । उनको मृत्यु पछि विभिन्न प्रतिक्रिया व्यक्त हुन थालेका छन् । सोमालियाका सुरक्षा सल्लाहकार हुसेन सेख अली यो अत्यन्त सकारात्मक भएको बताएका छन् । उनले सोमालीयामा साहब अतल जति खतरनाक इस्लामिक स्टेट नभए पनि सुडानी व्यक्ति नै खतरनाक भएको प्रतिक्रिया दिएका छन् । उनको मृत्यु पछि सोमालियामा आतङ्ककारी नेताहरू सुरक्षित छैनन् भन्ने सन्देश पुगेको पनि उनले बताए ।

आइएस सोमालिया यस संस्थाको सानो समूह मध्येको एक हो । यसले सन् २०२२ मा जम्मा २२ कारबाही गरेको थियो । ती सबै कारबाही राजधानी मोगादीसुमा भएको थियो । गत वर्ष नै संयुक्त राष्ट्र संघले तयार पारेको एक प्रतिवेदन अनुसार सोमालीयामा २ सय देखि २ सय ८० को बिच आइएस लडाकु छन् । उनीहरूले इराक र लेभान्टेमा हुन गतिविधिमा धेरै आर्थिक सहयोग गर्ने गरेका छन् ।

गत साता महिला सोमालीया आइएसले प्रोपोगान्डाका लागि एउटा भिडियो बाहिर ल्याएको थियो । त्यो भिडियोमा उत्तरी प्रान्तमा सरकारी सेनासँग झडप भएको देखाइएको छ । अहिलेको कारबाहीले भने अमेरिकाको सोमालियमा बढेको सक्रियतालाई पुष्टि गरेको छ । अमेरिकी सहयोगमा सेनाले ड्रोन आक्रमण गर्दै ३० जना भन्दा बढी अतल साहव लडाकु मारेको पनि एक साता पनि भएको छैन ।

अतल साह भन्दा आइसको प्रभाव सोमालीयामा कम भएको बताइए पनि यसले पछिल्ला समय गरेका केही गतिविधिले अमेरिकालाई सचेत गराएको हो । अतल साहबको प्रभाव त अझ डरलाग्दो छ । नोभेम्बर महिनामा राजधानी मोगादिसुमा गरिएको एक हमलामा १ सय २० जना मारिएका थिए । १५ वर्ष देखि सोमालियमा सामान्य गतिविधि गरेको अतल साहबका बारे निकायलाई सोही घटनाले गम्भीर बनाएको हो ।

त्यो आक्रमण हुनु भन्दा केही समय अगाडिसम्म सोमालियमा सरकारले अतल साहब विरुद्धमा आफूलाई बढी केन्द्रित गरेको थियो । गत वर्षको मेमा भएको राष्ट्रपति निर्वाचनमा हसन सेख मुहम्मद दोस्रो पटक जित हात पारेका थिए । सोही जित पछि उनले आतङ्ककारी गतिविधि नष्ट गर्ने घोषणा गरेका थिए । त्यसको लगत्तै आइएसले गरेको एक आक्रमणमा परी २१ जनाको ज्यान गएको थियो ।

गत वर्ष नै सरकारले अतल साहबको केही प्रभाव क्षेत्रमा छावा बोल्दै उनीहरूको निगरानीमा रहेको केही भूभाग फिर्ता गरेको थियो । पछिल्ला केही वर्ष आइएसले सोमालिया रणनीति बदलेको थियो । अन्य धेरै देशमा भन्दा सोमालिया कमजोर उपस्थिति भएका कारण सिधा झडप भन्दा पनि बम पड्काउने कुरा प्राथमिकतामा राखेको आइएसले सोमालिया विदेशी उच्च पदस्थको अपहरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको थियो ।

अतल साहबको भूमिका पनि अझ विस्तृत थियो । उनीहरूले ग्रामीण भेगमा आफैले कर उठाउने काम पन गरेका थिए । कतिपय ग्रामीण क्षेत्रमा त अतल साहबको आफ्नै अदालत पनि छ । १५ हजार देखि १८ को बिचमा लडाकु रहेको अतल साहबले मासिक १ करोड डलर उठाउने गरेको अनुमान छ ।

सोमालिया सरकारले अतल साहब र आइएस लगायत आतङ्ककारी समूहले मारेको व्यक्तिको तथ्यांक सार्वजनिक गर्ने गरेको छैन । सरकारले यसलाई लुकाउने प्रयास गरे पनि त्यहाँ काम गरी रहेका अन्तर्राष्ट्रिय निकायको अनुसार सन् २०२० र २०२१ को तुलनामा २०२२ मा उनीहरूबाट धेरै सङ्ख्यामा मारिएका थिए ।

सोमालिया विगतमा अमेरिकाले सहयोग गरे पनि सन् २०२० मा दुई देशको सम्बन्धमा केही तुसारापात देखिएको थियो । त्यसै कारण अमेरिकाले आफ्नो सेना फिर्ता बोलाएको थियो । यसै गरी अफ्रिकन युनियन ट्रान्सजिक्सन मिसन इन सोमालियाले पनि त्यहाँ आतङ्ककारीको विरुद्धमा सोमालिया सरकारलाई सहयोग गरेको थियो ।

विगतका दशकमा सोमालियामा विविध समस्या देखिएको थियो । भोकमरी र गरिबीसँग जुधिरहेको सोमालियामा आतङ्ककारी गतिविधि अर्को गम्भीर समस्या हो । सोही गतिविधिमा अतल साहबको प्रभाव त छँदै थियो, सुडानीको सहयोग र उनले आइएस मार्फत गरेको गतिविधि पनि डरलाग्दा थिए ।

यसै कारण उनको मृत्यु पछि सोमालियामा खुसियाली छाएको छ । १० जना अन्य आइएसका कार्यकर्ता मारिएका छन् । तर, धेरैलाई गिरफ्तार गर्ने अमेरिकी योजना भने असफल भएको छ ।

अमेरिकी सुरक्षा सचिव लायड अस्टिनले यसले अमेरिका निकट शक्तिलाई सुरक्षाको प्रत्याभूति गराएको प्रतिक्रिया व्यक्त गरेका छन् । उनले संसारलाई आतङ्कवाद मुक्त पार्ने अमेरिकी प्रतिबद्धतालाई थप प्रमाणित गरेको पनि बताएका छन् । लायडले यो घटनाले सोमालियमा रहेका अन्य आतङ्ककारी पनि असुरक्षित भएको सन्देश पुगेको बताएका छन् । अमेरिकी निकायले सन् २०१२ देखिकै उनका गतिविधिलाई नियालेको थियो ।

अमेरिकाले यस भन्दा अगाडि सोमालियाका धेरै गाउँबाट अतल साहबका कार्यकर्तालाई धपाउन पनि सहयोग गरेको लायडले बताए । लायडकै विचारमा सोमालीयाको यो घटना सरकारका आगामी दिनको कामका लागि महत्त्वपूर्ण हुन सक्ने छ ।

सुडानीको मृत्यु संसारका धेरै नाम सुनिएका आतङ्ककारीको मृत्युको समाचार भन्दा लाग्न सक्छ । तर, यसले आइसको एउटा संरचनामा नै असर गर्न सक्ने छ ।

(श्रोत : बीबीसी, भ्वाइस अफ अमेरिका)