प्रतिकात्मक तस्वीर

खेलकुद

टाइगर कप भलिबलको उपाधि एपिएफलाई 

By खबरहब

January 28, 2023

कास्की– सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा आज भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पन्छाउँदै एपिएफले उपाधि जितेको हो । 

पहिलो सेट २५-२० ले जितेको एपिएफले दोस्रो सेट भने आर्मीले २५-२२ ले जित्यो । तेस्रो सेटमा २५-८ ले खेल आफ्नो पक्षमा पारेको एपिएफले चौथो सेट २५-२२ अंकले जित्दै विजेता बनेको हो । एपिएफले  पाँच लाखसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता आर्मीले दुई लाख ५० हजार प्राप्त गरेको छ । 

प्रतियोगिताको पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच खेल सुरु भएको छ । भलिबल खेलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित टाइगर ग्रुफ अफ पोखरा नेपालले यही माघ ८ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो ।