सांकेतिक तस्बिर

देश/प्रदेश

लमजुङमा आगलागी हुँदा वृद्धाको मृत्यु

By खबरहब

February 28, 2023

काठमाडौँ- लमजुङमा आगलागीमा परी एक जना वृद्धाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका–८, खिन्चोक बेंसीमा बस्दै आएकी ९१ वर्षीया हाँकी कामीको टहरासँगै जलेर मृत्यु भएको हो ।

सोमबार राति टहरामा आगलागी हुँदा सुतिरहेकी उनको जलेरै मृत्यु भएको देखिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार हाँकी कामी एक्लै पकाएर खाने र टहरामा एक्लै बस्ने गर्थिन् ।

उनलाई रेखदेख गरिरहने एकजना रहेको र जेठीपट्टीका नातिनातिना गाउँमा रहेपनि हाँगी एक्लै बस्दै आएकी थिइन् । आगलागीबाट एउटा पाठा र एउटा भेडा पनि घाइते भएका छन् ।

छिमेकीले राति अबेर आगो निभाए पनि वृद्धा सकुशल उद्धार गर्न नसकेको र लत्तकपडा, भाँडाकुँडा, चामल, मकैलगायत खाद्यान्न सबै जलेको इलाका प्रहरी भोटेओडारका इन्सपेक्टर राजन तिमिल्सिनाले बताए ।

चिसो बढेपछि आगो ताप्न आगो फुकेकोमा हावा चल्दा खाटमुनि राखेका दाउरामा आगो सल्केको र खाटमा सुतिरहेकी उनी जलेको देखिएको उनले बताए ।