राजनीति

नेकपा एसले मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मात्रै प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने

By खबरहब

March 28, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने जनाएको छ ।

पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागीताका लागि तीन मन्त्रालयमा दावी गरेको भन्दै मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको र मन्त्रालयको टुङ्गो लागेपनि नाम बुझाउने बताए ।

सीटको बाँडफाँड ढिला भएको कारणले मन्त्रीको नाम दिन नपाएको उनको भनाइ छ । त्यस्तै बैठकले पार्टीका उपाध्यक्ष केदार न्यौपाने र स्यायी कमिटीका सदस्य चुडामणि जङ्गलीले दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकले मिटर ब्याज विरुद्ध आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको खतिवडाले बताए ।

मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न पनि बैठकले माग गरेको खतिवडाले जानकारी दिए ।