फाइल फोटो

ब्रेकिङ स्टोरी

फरार सांसद कोइरी ‘बिरामी’ भएको बताएपछि सभामुख विवादमा, संसद बैठक स्थगित

By खबरहब

April 28, 2023

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसदमा अनुपस्थित सांसदहरु नाम सुनाउने क्रममा प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरी बिरामी भएको बताएपछि संसद बैठक स्थगित गर्नुपरेको छ ।

१० भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुकाबारे सूचना दिने क्रममा सभामुख घिमिरेले कोइरी बिरामी भएकाले बैठकमा उपस्थित हुन नसकेको बताएपछि कांग्रेस, माओवादी, रास्वपा, राष्ट्रिय जनमोर्चाका सांसदहरुले आपत्ति जनाएका थिए । कांग्रेसका रमेश लेखकले ‘बिरामी’ शब्द रेकर्डबाट हटाउन माग गरे ।

यसपछि रास्वपाका रवि लामिछानेले कोइरी बिरामी नभएको र भागेर भारत गएको बताउँदै अभियुक्तलाई जोगाउने प्रयास नगर्न सचेत गराए । एमाले सांसद रघुजी पन्तले पनि कुनै पनि अपराधिलाई जोगाउने पक्षमा एमाले नरहेको बताए ।

तर, सभामुख घिमिरेले लक्ष्मी महतो कोइरी ‘बिरामी’ भएर बैठक अनुपस्थित भएको रेकर्डबाट हटाउन रुलिङ गर्न मानेनन् । यसपछि सांसदहरुले उठेर विरोध जनाइरहे । सभामुख घिमिरेले पटक पटक आफ्नो ध्यानाकर्षण भएको जनाउँदै बस्न आग्रह गरे ।

तर, सांसदहरु बस्न मानेनन् । यसपछि सभामुख घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

अदालतले फौजदारी अभियोगमा लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न आदेश दिएको छ । प्रहरीले उनलाई खोजिरहेको बताउँदै आएको छ ।