आज जेठ १४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’
अमेरिकामा राष्ट्रपति जो बाइडेन र विपक्षी रिपब्लिकनहरूबीच ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’ बनेको छ ।
विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ह्वाइट हाउस र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा बहुमतमा रहेका रिपब्लिकनबीच सहमति बनेको हो ।
यो सहमति एक महत्वपूर्ण कदम मानिएको छ । राष्ट्रपति बाइडेनले विज्ञप्तिमा लेखेका छन् ‘वार्ता टोलीले यसको पाठलाई अन्तिम रूप दिनेछ र सम्झौता हाउस र सिनेटमा जानेछ ।’
अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीले पनि आफ्नो सामाजिक सञ्जालमा यस बारे उल्लेख गरेका छन् ।
ऋण सीमा सम्झौताको पाठ आइतबार सांसदहरूलाई उपलब्ध हुनेछ र प्रतिनिधिसभाले बुधबार मतदान गर्नेछ, म्याकार्थीले भने ।
अमेरिकाको मोटरसाइकल र्यालीमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते
अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
गोलीबारी गिरोहसँग सम्बन्धित भएको पाइएको रेड रिभरका मेयर लिन्डा काल्हौनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । उनले सो काण्डमा तीन जनाको मृत्यु र पाँच घाइते भएको पुष्टि गरेका छन् ।
मे २५ देखि २९ सम्म चल्ने ४१औँ वार्षिक रेड रिभर मेमोरियल मोटरसाइकल र्यालीमा ‘विभिन्न पृष्ठभूमिका २८ हजार मोटरसाइकल’ सो र्यालीमा सहभागी भएको वेबसाइटमा उल्लेख छ ।
युक्रेनको राजधानी किभमा रुसद्वारा ड्रोन आक्रमण
रुसले युक्रेनमा आक्रमण शुरु भएदेखि शनिबार र आइतबारको रातमा युक्रेनी राजधानी किभमा “सबैभन्दा महत्वपूर्ण” ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् ।
विस्फोटक ड्रोनको सङ्ख्या ५४ रहेको युक्रेनको वायुसेनाले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ ।
राजधानीलाई लक्षित गरी गरिएका ४० वटा ड्रोन आक्रमणबाट दुई जनाको ज्यान गएको र तीन जना घाइते भएको बताइएको छ ।
रुसको बेल्गोरोड क्षेत्रमा भएको गोलाबारीमा परी एक जनाको मृत्यु
युक्रेनी सेनाले रुसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा एक जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएका छन् ।
यस क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले शनिबार दिएको जानकारी अनुसार गोलाबारीका क्रममा शहरको एक अपरेटिङ इन्टरप्राइजमा सुरक्षा गार्डका रूपमा कार्यरत एक जनाको मृत्यु भएको हो ।
घाइते हुनेमा दुई किशोर र एक वयस्क रहेको पनि गभर्नरले बताएका छन् ।
‘दुई ठूला उद्योगको परिसरमा कैयौं गोला खसेको र आगोलागी भएको थियो । आपतकालीन सेवाहरूले क्षेत्रको निरीक्षण गरिरहेको छ’ गभर्नरले भने।
युक्रेनको खार्किभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ।
घानामा डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु, थुप्रै बेपत्ता
घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन्।
राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ) का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताएअनुसार केपान्डाई जाँदै गरेको डुङ्गा बाटोमा रहेको रुखमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो।
रूखमा ठोक्किएपछि डुङ्गा डुबेको बएडम्सले बताएका छन्। घटनास्थलबाट पाँचवटा शव निकालिएको छ। खोज एवं उद्धार टोलीले केही यात्रुहरूलाई सकुशल उद्धार गरेको छ भने खोजी कार्य अझै जारी छ।
उक्त डुङ्गाका यात्रुको निश्चित सङ्ख्या पुष्टि हुन बाँकी छ।
भारतीय प्रधानमन्त्री मोदीले गरे नयाँ संसद् भवनको उद्घाटन
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गरेका छन् ।
“यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ । यसले साठी हजारभन्दा बढी कामदारलाई रोजगारी दिएको छ । हामीले उनीहरूको कठोर परिश्रमको सम्मान गर्दै ‘डिजिटल ग्यालरी’ बनाएका छौँ,” प्रधानमन्त्री मोदीले भने ।
करिब साढे दुई वर्ष लगाएर निर्माण भएको नयाँ भवन अघिल्लो भवनभन्दा धेरै फराकिलो छ भने सांसदहरुको सिट क्षमता पनि बढाइएको छ । नयाँ संसद् भवन औपनिवेशिक मानसिकताको अन्त्यको प्रतीक भएको प्रधानमन्त्री मोदीले बताए ।
“नयाँ संसद भवन मात्र होइन यो भारतका एक अर्ब ४० करोड जनताको आकाङ्क्षाको प्रतीक हो । यसले विश्वलाई भारतको दृढ सङ्कल्पको सन्देश दिन्छ । ‘अमृत काल’ ले राष्ट्रलाई नयाँ दिशा दिनेछ । नयाँ संसद् भवन नयाँ भारतको दृष्टिकोण र सङ्कल्पको ज्वलन्त उदाहरण बन्नेछ,” आफ्नो कार्यकाललाई अमृत कालको संज्ञा दिँदै प्रधानमन्त्री मोदीले भने, ‘‘केही वर्षको विदेशी शासनले हामीबाट हाम्रो गौरव खोस्यो । तर आज भारतले त्यो औपनिवेशिक मानसिकतालाई पछाडि छोडेको छ । भारत लोकतन्त्रको जननी हो । यो विश्वव्यापी लोकतन्त्रको जग पनि हो । लोकतन्त्र हाम्रो संस्कार, आदर्श र परम्परा हो ।’’
प्रधानमन्त्रीले पञ्चायत भवनदेखि संसद् भवनसम्मको प्रेरणा एउटै भएको उल्लेख गर्दैै नयाँ संसद्मा बस्दा जनताका लागि चार करोड घर र ११ करोड शौचालय निर्माण, ४ लाख किलोमिटर ग्रामीण सडक निर्माण, ५० हजार अमृत सरोवर निर्माण र ३० हजार नयाँ पञ्चायत भवन निर्माण गरेकोमा मलाई निकै सन्तुष्टि मिलेको बताए ।
पञ्चायत भवनदेखि संसद् भवन भारतको प्रेरणा तथा देश र जनताको विकास भएको चर्चा गर्दै प्रधानमन्त्री मोदीले नयाँ संसद् भवन आत्मनिर्भर भारतको प्रमाण बन्ने बताए । उनले भारतको विकाससँगै विश्वको पनि विकास हुने बताउँदै नयाँ संसद् भवनले विश्वको प्रगतिमा योगदान गर्ने तर्क गरे ।
यसैबीच, सत्तारुढ भारतीय जनता पार्टीको विपक्षमा रहेका १९ राजनीतिक दलले प्रधानमन्त्री मोदीको सट्टा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ संसद् भवनको उद्घाटन गर्नुपर्ने भन्दै समारोह बहिष्कार गरेका थिए ।
३० औँ जलवायु शिखर सम्मेलन ब्राजिलमा हुने
संयुक्त राष्ट्र सङ्घले सन् २०२५ मा अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप –३०) आयोजनाका लागि ब्राजिललाई छनोट गरेको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि अमेजोनियन सहर बेलेम डो पारामा ३० औ कोप आयोजना गरिने घोषणा गरेका छन् । अमेरिकी केबल न्युज नेटवर्क सीएनएनका अनुसार राष्ट्रपति लुलाले ट्विटरमा पोष्ट गरिएको भिडियोमा आफूले इजिप्ट, पेरिस, कोपेनहेगनमा जलवायु सम्मेलनमा भाग लिएको र सम्मेलनमा उपस्थित प्रायःसबैले अमेजनका बारेमा कुरा गरेकाले अमेजनलाई चिनाउन उक्त सम्मेलन अमेजनमा नै गर्न चाहेको उल्लेख गरेका छन् ।
ब्राजिलका विदेश मामिला मन्त्री माउरो भिइराले संयुक्त राष्ट्रसङ्घले गत वर्ष इजिप्टमा भएको जलवायु सम्मेलनमा ब्राजिलका राष्ट्रपति लुलाको अनुरोधलाई स्वीकार गर्दै ब्राजिलको प्रस्तावलाई हालै अनुमोदन गरेको बताएका छन् । बेलेम डो पारा अमेजन जंगलको किनारमा अवस्थित उत्तरी ब्राजिलको सहर हो ।
९ हजारभन्दा बढी अफगानीद्वारा शरणका निम्ति आवेदन
एक महिनाको अवधिमा नौ हजारभन्दा बढी अफगानीले युरोपेली सङ्घमा शरणका लागि आवेदन गरेका पाइएको छ ।
युरोपेली जनगणना ब्युरोका अनुसार गत महिनामा नौ हजारभन्दा बढी अफगान नागरिकले सङ्घका सदस्य राष्ट्रमा शरणका लागि आवेदन गरेका पाइएको छ । कुनै एक देशबाट शरणका निम्ति आवेदन गरिएको यो अभिलेख अहिलेसम्मकै उच्च हो ।
चालु वर्षको प्रारम्भमा नै सङ्घका सदस्य राष्ट्रमा शरणार्थीको चासो गत वर्षको तुलनामा ४० प्रतिशतले बढेको छ । गत बिहीबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै युरोपेली जनगणना ब्यूरोले फेब्रुवरीमा मात्रै ७६ हजार पाँच सय व्यक्तिले सङ्घका सदस्य देशमा शरणका लागि आवेदन बुझाएके र गत वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको जनाइएको छ ।
युरोपेली सङ्घमा आबद्ध मुलुकमा सबैभन्दा धेरै शरण खोज्नेको सङ्ख्या सिरिया र अफगानिस्तानका नागरिकको रहेको छ । शरणका लागि आवेदनको ७७ प्रतिशत क्रमशः स्पेन, जर्मनी, फ्रान्स र इटालीमा दर्ता भएको छ । जर्मनीमा फेव्रुवरीमा २५ हजारभन्दा आवेदन परेका छन् ।