समाचार

अवैध काठसहित नुवाकोटबाट दुई जना पक्राउ

By खबरहब

May 28, 2023

नुवाकोट – नुवाकोटको कागुनेबाट सालको काठ र गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध रूपमा ओसारपसार भइरहेको ८४ दशमलव ८७ क्युफिट सालको काठ प्रहरीले ओसारपसार गरिरहेको गाडीसहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरी चौकी सामरीबाट खटिएको प्रहरी टोलीले म्यागङ गाउँपालिका–५ सामरी कागुनेबाट धादिङ जिल्लातर्फ जाँदै गरेको बा३क ३२९६ नम्बरको आईचर गाडीसहित सालको काठ र दुई जना युवकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सालको चिरुवा काठ अवैध रूपमा लोड गरी लैजाँदै गरेको अवस्थामा फेला पारी तत्कालै आइचर गाडी, गाडीमा चालक नुवाकोटकै म्यागाङ गाउँपालिका-३ का २१ वर्षीय योगेश तामाङ र सोही गाडीमा सवार रहेका विदुर नगरपालिका-१३ का ५० वर्षीय मैत तामाङलाई सालको काठ र गाडीसहित नियन्त्रणमा लिई कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

गाडीसहित चिरुवा ७४ थान अर्थात् ८४।८७ क्युफिट सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय नुवाकोटमा पठाइएको छ ।