ब्रेकिङ स्टोरी

नक्कली शरणार्थी र ललिता निवास प्रकरण अनुसन्धानले जनतामा विश्वास जाग्यो : प्रधानमन्त्री 

By खबरहब

June 28, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा भएको अनुसन्धान र कारबाहीले जनतामा विश्वास जागेको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगसहितका शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री दाहालले यसले कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको उल्लेख गरे ।

उनले शरणार्थी प्रकरणपछि ललिता निवास प्रकरणमा भइरहेको छानबिन लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरणको एउटा रूप भएको बताए ।

उनले यस्ता विकृति विरुद्धको लडाइँ यतिकैमा नरोकिने उल्लेख गर्दै प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरू पक्राउ पर्न थालेको बताए ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, त्यसमा अहिले सुधार भएको जिकिर गरे ।

हाइ प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको उनको दाबी थियो ।

उनले मिटर ब्याजी र सहकारीका ठगहरूमाथि करवाही सुरु भइसकेको बताए ।