ब्रेकिङ स्टोरी

राष्ट्रपतिबाट मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

By खबरहब

July 28, 2023

काठमाडौँ- मिटरब्याज पीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

संघीय संसदका दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब उक्त विधेयकले कानूनको रुप लिएको छ ।

उक्त विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो । राष्ट्रियसभाले उक्त विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले पनि संशोधनसहित पारित गरेर पुनः राष्ट्रियसभा पठायो ।

बिहीबार बसेको राष्ट्रियसभाले प्रतिनिधिसभाबाट प्राप्त संशोधनसहितको उक्त विधेयकलाई पारित गरेको थियो । दुवै सदनले पारित गरेर प्रमाणीकरका लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको थियो । सोही विधेयकलाई शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।