ब्रेकिङ स्टोरी

संसदीय समितिका सभापतिको निर्वाचन आज

By खबरहब

August 28, 2023

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले आज सभापति पाउँदै छन् ।

संसद् सचिवालयका अनुसार दसमध्ये ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी परेको छ भने एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन हुने छ ।

जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने भएको हो ।

सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाए पनि रास्वपाले पनि उम्मेदवारी दिए पछि निर्वाचन हुने भएको हो ।

कांग्रेसका सांसद आरजु राणा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र रामहरि खतिवडाले सुशासन समितिको र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै एमालेका सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको सभापति र किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिमा उम्मेदवारी दिएका छन्।

सत्तारूढ दल माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार र जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उम्मेदवारी दर्ता गरेका छन्।

यसैगरी एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, राप्रपाका दिपक सिंहले पूर्वाधार विकास र जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।