समाचार

बिरामीको मृत्युपछि धनगढीमा आफन्तको विरोध प्रदर्शन

By खबरहब

August 28, 2023

धनगढी– धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ।

दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका हुन्।

मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोशित बनेका छन्। यसै विषयमा स्वस्तिक अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ। 

घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तको माग छ । 

तर अस्पताल प्रशासनले एक जनालाई रोजगारी र काजक्रिया खर्च बाहेक अरु दिन नसक्ने अडान लिएपछि वार्ता निष्कर्षविहीन बनेको छ।