तस्विर- विकिपिडिया

अन्तर्राष्ट्रिय

भारतमा एकै परिवारका ७ जनाले गरे सामूहिक आत्महत्या 

By खबरहब

October 28, 2023

नयाँदिल्ली– भारतको सुरत शहरमा सामूहिक आत्महत्याको खबर सार्वजनिक भएको छ । यस दुखद घटनामा एकैसाथ सात जनाको मृत्यु भएको छ । सुरतको यो हृदयविदारक घटनामा पुरै परिवारले विष पिएर सामूहिक आत्महत्या गरेका छन् । 

एक परिवारका श्रीमान श्रीमती, बाबुआमा, एक छोरा र दुई छोरीसहित सामूहिक आत्महत्या गरेको खबर सार्वजनिक भएको हो । शान्तिलाल सोलंकीले झुण्डिएर आत्महत्या गरेका छन् भने परिवारका अन्य सदस्यले पनि विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ । यो घटना सूरतको पालनपुर क्षेत्रमा भएको हो ।

प्रहरीका अनुसार यो दुखद घटना शनिबार सूरतको अडाजन क्षेत्रमा भएको हो । यस घटनाले सुरतका बासिन्दाहरूलाई स्तब्ध बनाएको छ किनभने चार वयस्क र तीन बालबालिकासहित एकै परिवारका सात सदस्यले सामूहिक आत्महत्या गरेका छन्। घटना अडाजनको पालनपुर पटियास्थित सिद्धेश्वर अपार्टमेन्टमा भएको हो ।

शान्तिलाल सोलंकीले पहिले आफ्नी श्रीमती, आमा, बुबा र तीन छोराछोरीसहित परिवारका सदस्यलाई विष दिएर पछि आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका थिए । घटना बारे स्थानीयले प्रहरीलाई खबर गरेपछि अडाजन प्रहरी र वरिष्ठ प्रहरी अधिकारी घटनास्थलमा पुगेका थिए ।

यो घटनाले पालनपुर पटियामा बसोबास गर्ने जनतामा शोकको लहर फैलिएको छ । मृत्युको कारण खुल्नका लागि प्रहरीले शव पोष्टमार्टमका लागि नयाँ सिभिल अस्पतालमा राखेको छ ।

प्रहरी अधिकारीहरूले परिवार र उनीहरूको आर्थिक अवस्थाबारे थप जानकारी लिन छिमेकीहरू र क्षेत्रका अन्य मानिसहरूसँग सोधपुछ गर्न थालेका छन्। यो सामूहिक आत्महत्याको कारण के हो ? भनेर अहिलेसम्म कसैलाई थाहा छैन। तर, आर्थिक समस्या, पारिवारिक विवादलगायत सबै पक्षमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार सुरतमा भएको सामूहिक आत्महत्याको घटनामा एकैसाथ सात जनाको मृत्यु हुनेमा शान्तिलाल सोलंकी र उनकी श्रीमती रीता सोलंकी, उनका छोरी काव्या सोलंकी र दीक्षा सोलंकी, छोरा कुशल सोलंकी, शान्तिलाल सोलंकीका बुवा कानुभाइ सोलंकी र आमा शिलाबेन रहेका छन् ।