ब्रेकिङ स्टोरी

सयपत्रीबाट औषधि बनाउन सिकाउँदै सरकार, व्यवसायी भन्छन् : अहिलेको उत्पादनले एक घान पुग्दैन

By खबरहब

November 28, 2023

तिहारमा सयपत्री फूल नबिकेको झ्वाँकमा कृषकले फूल फालाफाल गरेको समाचार यत्रतत्र सार्वजनिक भए । यस वर्ष तिहारको तिथि ढिलो हुँदा दशैंताका नै सयपत्री फूल बोटमा ओइल्याएको खबर उत्तिकै छायो ।

पोहोरको जस्तो फूल महँगिने सम्झिएर फूलखेती विस्तार गर्ने र फूलमा लगानी बढाएर रातारात फाइदा कमाउने व्यापारीको योजना माग र आपूर्तिमा तालमेल नमिल्दा असफल बन्यो । भारतबाट आयातीत फूल नरोकेको भन्दै उनीहरुले सरकारलाई सरापे । बिलौना पोखे ।

यस वर्षका महत्वपूर्ण चाड सकिए । मानिसले सयपत्री फूलको किस्सा बिर्सिए । यसैबेला सरकारी कार्यालय खुलेलगतै उदेकलाग्दो हिसाबमा वनस्पति विभागले सयपत्री फूलबाट प्रशाधन र औषधिका सामान बनाउन सिकाउने तालिम सार्वजनिक गर्‍यो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकहरुले सयपत्री फूलको उपयोगिताको व्याख्या गर्दै फूल जथाभावी नफाल्न अपिल गरे । यसको महत्व सम्झाए ।

अब प्रश्न उठ्यो– सरकारी निकायका लागि यो एजेण्डा रहर हो कि कहर हो ? आवश्यकता हो या उत्तेजना ? सयपत्री फूलको उत्पादन कति हुन्छ ? वर्षमा एकपल्ट फुल्ने फूलबाट उद्योग सम्भव छ ? सरकारी निर्णयप्रति व्यवसायीको प्रतिक्रिया के छ ? कतै रहरमा योजना बनाएर फुर्सदमा पछुताउने कडीकै अर्को निरन्तरता त हैन यो निर्णय ? किसानले फूल मिल्काउनु अघि यी निर्णय किन सार्वजनिक भएनन् ? हामीले यिनै जिज्ञासाको जवाफ खोज्ने निधो गर्‍यौं ।

विशेष गरी धार्मिक र सांस्कृतिक अनुष्ठानमा प्रयोग गरिसकेपछि फूल मिल्काउने चलन छ । तर, अब यसको प्रशोधन गरेर विभिन्न सामग्री उत्पादन गर्न सकिने सरकारी विश्लेषण छ । वनस्पति विभागको प्राकृतिक सम्पदा अनुसन्धानशालाले सयपत्री फूलको प्रशोधन गरेर ल्युटिन निकाल्ने निःशुल्क तालिम दिने भएको हो । ल्युटिन बहुउपयोगी पदार्थ हो । यसबाट भिटामिन, क्रिम र औषधिलगायत धेरै थरी उत्पादन गर्न सकिन्छ ।

वनस्पति विभागका वरिष्ठ अनुसन्धान अधिकृत देवीप्रसाद भण्डारीका अनुसार नेपालमा फूल खेतीको आकर्षण बढ्दै गएपनि यसको बहुउपयोग पूजाआजा, माला बनाउन र सजाउन मात्रै उपयोग भएको पाइन्छ । तर, अन्य देशमा फूल व्यवसाय उद्योगकै रुपमा विस्तार हुँदा नेपालमा किन नगर्ने भनेर अध्ययन, अनुसन्धान गरिएको छ । उनी भन्छन्, ‘नेपाल फूल खेतीको लागि माटो र हावापानी निकै सुहाउँदो छ ।’ ‘नेपालमा चाडपर्व सकिएपछि फूलहरु उत्पादन भएजति सबै प्रयोग हुनसक्दैन । प्रयोगमा आएकालाई पनि फेरि प्रशोधन गरेर विभिन्न सामाग्री उत्पादन गर्न सकिने भण्डारीले खबरहबलाई बताए ।

के हो ल्युटिन, यसबाट के बन्छ ?

प्राकृतिक सम्पदा अनुसन्धानशालाले विगतदेखि सयपत्री फूलबाट के–कस्ता सामाग्री उत्पादन गर्न सकिन्छ भनेर अध्ययन र अनुसन्धान गर्दै आइरहेको छ । ‘सयपत्री फूलबाट ल्युटिन कसरी निकाल्ने र ल्युटिनबाट एसेन्सियल आयल पनि बनाउन सकिने उनले बताए । ‘यसबाट सौन्दर्य सामाग्री बाहेक अन्य सामाग्री कसरी निकाल्न सकिन्छ भनेर अध्ययन गरिरहेको छ’भण्डारीले भने ।

प्रारम्भिक चरणमा यो तालिम अलिकति प्राविधिक ज्ञान भएको, उद्योग भएको, हर्बल प्रोसेसिङ र भ्यालु एडिसनमा काम गर्ने लक्षित समूहलाई बनाएको भण्डारीले बताए । तर, फूल व्यवसायी झनै धेरै उत्साहित भएको उनले पाए । उनी भन्छन्, ‘नेपालमा अहिले फूल व्यवसायी धेरै रहेछन्, तालिममा सहभागिताको लागि उहाँहरुको माग धान्न नै मुस्किल भएको छ ।’

एसेन्सियल आयल निस्कने हुँदा यसबाट सौन्दर्य सामाग्री पनि उत्पादन गर्न सकिने भण्डारीले बताए । जस्तै उच्च गुणस्तरको अत्तर बनाउन सकिन्छ । र अर्को फुड फ्लेबर पनि बनाउन सकिने उनले बताए । ‘तत्काल हाम्रो सयपत्री फूलबाट ल्युटिन निकाल्ने लक्ष्य हो । सरकारले बजार दिन सक्ने भएपछि किसानलाई फूल व्यवसायमा आकर्षण गर्न सकिन्छ’ उनले भने ‘त्यसपछि उद्योग विस्तार गर्दै लैजान सकिन्छ ।’ यसलाई उद्योगकै रुपमा लैजानको लागि नेपालमा जतिपनि फूल उत्पादन हुन्छ त्यतिले मात्रै नपुग्ने उनको आँकलन छ ।

सानो लगानीबाट गर्ने हो भने यो करिब ५० हजारदेखि एक लाख रुपैयाँको लागतमा पनि गर्न सकिन्छ । तर, उद्योग नै सञ्चालन गर्ने हो भने यसको प्रशोधित मेसिन महङ्गो छ । उच्च प्रविधि झनै महङ्गो पर्छ । करिब ५० लाखसम्ममा मध्यमस्तरको उद्योग सञ्चालन गर्न सकिन्छ । व्यवसायीले कत्रो व्यवसाय गर्ने भन्ने कुराले लगानी निर्धारण गर्ने अनुसनधान अधिकृतले बताए ।

ल्युटिन कुखुराको दानामा पनि प्रयोग हुन्छ । ल्युटिनलाई दानामा न्युट्रासिउटिकल अथवा भिटामिनको रुपमा विश्वभर नै प्रयोग हुन्छ । ‘नेपालमा यति धेरै कुखुरा फार्म रहेका छन् । त्यहाँ पनि यसको खतप हुने भयो’ भण्डारीले भने ।

अर्को, आखाँमा मोतिविन्दु भएकालाई पनि काम लाग्छ । व्यवसायिक उत्पादन गरेपछि देशमै खपत गर्न सकिन्छ । विदेश निर्यात गर्न पनि सकिन्छ । नेपालमा बनेका सुगन्धित तेलहरु आजपनि अमेरिका, अष्ट्रेलिया निर्यात भइरहेको छ ।

‘नेपालका जडिबुटी कच्चा पदार्थ सबै विदेश गइरहेको छ ।’ उनी भन्छन्, ‘यसबाट हामीले यथेष्ट लाभ लिन सकिएको छैन । अरु क्षेत्रमा लगानी भित्रिएको छ । यो जडिबुटीको क्षेत्रमा लगानी नभएको स्थिति छ ।’

रोजगारीको क्षेत्र खोज्ने यो स्वर्णिम अवसर भएको भन्दै कच्चा पदार्थ निर्यातभन्दा पनि उत्पादनमा जोड गर्नुपर्ने उनको तर्क छ । स्वदेशमै कच्चा पदार्थ प्रयोग गर्ने भनेर लागिरहँदा उद्योगीले विदेशी सामानको जस्तै गुणस्तरमा ध्यान दिनुपर्ने चुनौती छ । ‘उद्योगीले गुणस्तरमा ख्याल गर्दै बजारसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ ।’ भण्डारीले सयपत्री फूलबाट राम्रो व्यवसाय गर्न सकिने हुँदा विदेशिनु भन्दा यसकै अध्ययन, अनुसन्धान र व्यवसायमा लगानी गर्न युवापुस्तालाई आह्वान गरेका छन् ।

विभागले सूचना निकालेको तीन दिनमा करिब ३ सय बढीले यस तालिमको लागि रुचि देखाएर फोन गरेको वनस्पति विभागका सूचना अधिकारी राजेश्वर रंजितकारले जानकारी दिए । उनी भन्छन्, ‘गृहिणीदेखि व्यवसायी र विद्यार्थीहरु सबैले रुचि दिएका छन् ।’ काठमाडौं भित्र र बाहिरका जिल्लाबाट धेरैले आफूहरु तालिममा सहभागी हुन चाहेको भन्दै फोन आएको अधिकारीले बताए ।

‘विदेशमा ल्युटिन निकाल्नकै लागि फूल व्यवसाय गरिएको हुन्छ’ उनले भने ‘तर हामीकहाँ चाडपर्वमा प्रयोग भएका फूल र बगैचामा बाँकी बचेका फूलको सदुपयोग गर्ने भनेर प्रारम्भीक कुरा छ ।’ तर, यसलाई विस्तारै उद्योगकै रुपमा विस्तार गर्दा फूल खेती पनि व्यवसायकै रुपमा गर्नुपर्ने उनको भनाइ छ । उद्योग नै सञ्चालन गर्ने भएपछि विदेशी सामान विस्थापन गर्न सकिने अधिकारीले बताए ।

अहिलेको तालिम ४ दिनको छ । यसमा प्रशोधनको आधारभूत ज्ञान लिन सकिन्छ । तालिम निशुल्क हो तर, कााठमाडौं बाहिरबाट आएकाहरुले आफ्नो खाने बस्ने व्यवस्था आफै गर्नुपर्ने अधिकारीले जानकारी दिए ।

सयपत्री फूलको प्रशोधन प्रक्रिया-

सयपत्री फूलको प्रशोधन प्रक्रिया पहिले फूल संकलन गर्नुपर्छ । र त्यसलाई सफा गरेर सुकाउनुपर्छ । सुकेपछि ल्याबमा हेक्जेन, इथायल अल्कोहल लगायतका विभिन्न रसायनहरु प्रयोग गरेर विभिन्न चरणमा प्रशोधन हुन्छ । त्यसबाट सबैभन्दा पहिले ल्युटिन निकालिन्छ । ल्युटिनबाट नै खाने भिटामिन, लगाउने क्रिम, पर्फ्युम लगायतका अन्य विभिन्न सामग्री उत्पादन गर्न सकिन्छ ।

अहिलेको उत्पादन घान हाल्न पनि पुग्दैन : फूल व्यवसायी

फ्लोरीकल्चर एशोसियसन नेपालका महासचिव विश्वमणि पोख्रेलले अहिले नेपालको सयपत्रीको उत्पादनलाई हेर्ने हो भने मेसिनमा घान हाल्न पनि नपुग्ने बताएका छन् । उनी भन्छन्, ‘उद्योगकै रुपमा सञ्चालन गर्ने हो भने अहिलेको सयपत्रीको उत्पादनले मेसिनमा घान हाल्न पनि पुग्दैन ।’

यो पटक उत्पादन बढेको हुनाले यसको वैकल्पिक खपत गर्नुपर्ने कुरालाई मध्यनजर गर्दै विभागले योजना ल्याएको हो । ‘तरकारी लगाउँदा वन्यजन्तुले खाइदिने हुन्छ, तर फूल खादैन । संरक्षण गर्न सजिलो हुने हुदाँ आम्दानी पनि हुने, तर उत्पादन बढाएर उद्योग सञ्चालन गर्न सकिन्छ’ उनले भने ।

कृषिको वैकल्पिक खेतीमा सयपत्री प्राथमिकतामा परेको छ । कतिले मुख्य पेशाकै रुपमा खेति लगाएका छन् भने कतिले आफ्नो खाली जग्गाको सदुपयोग गर्ने भनेर पनि सयपत्री लगाएका छन् । किसानले तरकारी र फलफूल लगाएर सन्तुष्ट हुन सकेका छैनन् ।

‘नेपालको फूलले पुग्छ कि पुग्दैन भन्ने सवालमा स्थानीय निकायमा धेरै जग्गा खाली छ । जहाँ प्रशस्त मात्रामा सयपत्री लगाउन सकिन्छ ।’ सयपत्रीलाई प्रशोधन गरेर विभिन्न सामग्री बनाउने यो नेपालमा पहिलोपटक हो । यसको तालिम किसानभन्दा पनि उद्योग चलाउन सक्नेहरुको लागि उपयुक्त हो ।

स्थानीय निकायमै त्यही टिपेर घाममा सुकाएर उद्योगलाई बेच्न सकिन्छ । योजना अनुसार जाने हो भने यो उद्योगको रुपमा जाने सम्भावना भएको उनले बताए ।