खेलकुद

केपी ओली कप क्रिकेटको सेमिफाइल समीकरण पूरा, पुलिस बाहिरियाे

By खबरहब

November 28, 2023

कास्की – केपी ओली कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आजको खेलपछि बागमती प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् ।

पोखरामा जारी प्रतियोगिताको समूह ए बाट बागमती, समूह बी बाट एपीएफ, समूह सी बाट मधेश र समूह डीबाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका हुन् ।

बागमती र आर्मीले समूह चरणका दुई खेल जित्दै सेमिफाइनलमा स्थान बनाउँदा समूह चरणमा एक खेल जितेको एपीएफ नेट रनरेटमा अगाडि रहँदै सेमिफाइनल पुगेको हो ।

समुह सीमा भने बलियो टिम नेपाल पुलिस क्लब समूह चरणबाटै बाहिरिन पुग्यो । मंगलबार पुलिस सुदूरपश्चिमसँग ४ विकेटले पराजित हुँदा नेट रनरेटका आधारमा मधेश सेमिफाइनलमा पुगेको हो ।

मंसिर १४ मा हुने सेमिफाइनलमा अब बागमतीले त्रिभुवन आर्मीसँग र एपीएफले मधेशसँग खेल्नेछन् । फाइनल खेल मंसिर १५ गते हुनेछ ।