ब्रेकिङ स्टोरी

सन्दीप विरुद्धको मुद्दामा अन्तिम बहस हुँदै, आजै फैसला आउने सम्भावना

By खबरहब

December 28, 2023

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि बहस हुँदैछ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी बहस हिजो नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

हिजोको बहसमा जाहेरवाला र सरकारी वकिलहरूको बहस सकिएपछि सन्दीप पक्षका वकिलहरूको बहस सुरु भएको छ ।

सन्दीपका पक्षका वकिलको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि अन्तिम फैसला आउने छ । सम्भवतः आजै या भोलिसम्ममा यो मुद्दाले अन्तिम किनारा पाउने सम्भावना छ ।

२०७९ साल कात्तिक १४ गते पीडित भनिएकी किशोरीले सन्दीपले आफूमाथि बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा दोषी ठहर भए सन्दीपले १० देखि १२ वर्षको जेल सजाय पाउने छन् ।