ब्रेकिङ स्टोरी

राष्ट्रियसभामा जान रेशमको इच्छा, पत्नी श्रेष्ठ भने अन्यलाई अवसर दिने मुडमा

By खबरहब

December 28, 2023

काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई पनि एक सिट दिन गठबन्धन दल सहमत भएका छन् । गठबन्धन दलहरूबिच सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलाई एक सिट दिने सहमति भएसँगै उम्मेदवारको विषयमा उसले छलफल सुरु गरेको  छ ।

नाउँपाबाट राष्ट्रियसभामा जानका लागि संरक्षक रेशम चौधरीले इच्छा देखाएका छन् । तर, चौधरीलाई राष्ट्रियसभामा पठाउन अध्यक्ष रन्जिता श्रेष्ठले नमानेको बताइएको छ । एकै परिवारबाट संसदमा तीन जनाले प्रतिनिधित्व गर्दा राम्रो सन्देश नजाने श्रेष्ठको तर्क छ ।

नाउँपाका एक नेताले भने, ‘हामीले तपाई जानुपर्छ भनेका छौँ । तर उहाँ र उहाँको परिवार मान्नु भएको छैन । अन्य नेतालाई प्राथमिकता दिन्छौँ भनेर पार्टी अध्यक्षले भनिरहनु भएको छ ।’ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी श्रेष्ठ रेशमकी श्रीमती हुन् ।

राष्ट्रियसभा निर्वाचनको छलफलका लागि नाउँपाले शनिबार केन्द्रीय समिति बैठक राखेको छ । सो बैठकबाट राष्ट्रियसभामा कसलाई पठाउने भन्ने निर्णय हुने बताइएको छ ।

राष्ट्रियसभाका लागि नाउँपामा चौधरीसँगै वरिष्ठ उपाध्यक्ष दामोदर शर्मा पण्डित, उपाध्यक्ष सुनिता चौधरी, पूर्व आइजिपी मोतीलाल बोहोरा र रेशम चौधरीको नाम पनि चर्चामा छ ।