फाइल फोटो

राजनीति

राष्ट्रपतिको निर्वाचन मिति छिटो तोक्न आयोगलाई कांग्रेस उपसभापति खड्काको आग्रह

By खबरहब

January 29, 2023

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन गरिसक्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनुअघि नै निर्वाचन आयोगले निर्वाचन गरिसक्नुपर्ने बताएका हुन्।

‘राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले देखिएको संसयको घेराबाट बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ।’ उनले आयोगलाई सुझाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरेको छ। कांग्रेसले राष्ट्रपतिमा सहयोग मागेपछि माओवादीले राष्ट्रिय सहमति खोज्ने बताइरहेको छ।

सत्ता साझेदार दल नेकपा एमालेले आफ्नो उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ।