तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

आर्थिक स्थिति सुध्रिएसँगै श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

By खबरहब

March 29, 2023

कोलम्बो- श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताएका छन् ।

मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर ६० रुपैयाँ, डिजेलमा  ८० रुपैयाँ र मट्टितेलमा १० रुपैयाँ कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल ३४० रुपैयाँ, डिजेल ३२५ रुपैयाँ र मट्टितेल २९५ रुपैयाँमा पाउने छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएका छन् । साथै अमेरिकी डलरको  तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो ।