नेपाली संगीत आकाशमा मात्र होइन नेपाली चलचित्रमासमेत चुनौलो इतिहास निर्माण गर्न विशिष्ट योगदान दिने स्रष्टा हुन् डा. किरण प्रधान। धेरै प्रतिभाशाली हुँदा हुँदै पनि मनोरञ्जनमा आफ्नो विरासतलाई चटकै छाडेर शिक्षाको ज्योतिले हजारौँ लाखौँलाई दीक्षित बनाउन आफ्नो जीवन नै अर्पित गरेका छन्। नेपाली गीत संगीत एक अमर र अग्रज सर्जक डा. किरण प्रधानसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :
यहाँको सांगीतिक यात्रा कसरी सुरु भएको हो ? विद्यालय तहको पढाइ मेरो दार्जिलिङमा भएको हो। त्यहाँ स्कुलमा मैले टेबुल ठटाएर गीत गाउने गरेको थिएँ। मैले २०२७ सालमा रेडियो नेपालमा गएर गीतको रेकर्डिङ सुरु गरेको हो। त्यसपछि गीत गाउने अवसरहरू मिल्यो र औपचारिक रूपमा गीत गाउन थालेँ। स्कुलमा नाटक पनि गर्ने गरेको थिएँ। धेरै चलचित्रमा पनि काम गरेँ। २०३६/२०३७ साल तिर गौरीशङ्कर ध्वजसँग कुराकानी गर्दागर्दै फिल्म बनाउने सोच आयो। फिल्म बनाउने भनेर दुई रातमा नै स्क्रिप्ट तयार पारेर पहिलो फिल्म बनाएको हो। त्यसमा गीतहरू ६७ वटा थिए। त्यसपछि अलि बढी गीतप्रति ध्यान गयो। २०४२ सालमा नेपाल टेलिभिजनको सुरुवात भयो। त्यो समयमा निर शाहलाई घरमा लगेर त्यो भिडियो देखाएँ। त्यसमा म आफै आर्टिस भएको थिएँ। गीत सङ्गीतप्रति ध्यान भएको कारण गीतमा आधारित भएँ।
नारायण गोपाल र तपाईंको स्वर मिल्छ भनेर नकारात्मक र सकारात्मक दुवै पक्षबाट चर्चा किन हुन्छ ? हो। त्यो यथार्थ हो। म स्टेजमा जाँदा मलाई नारायण गोपालको छोरासमेत भनेका थिए। जानेर तथा नजानेर म नारायण दाइको नै गीत गाइरहेको हुन्थेँ। केही वर्षपछि गोपाल दाइले मलाई गाली गर्नुभयो। तिमी किरण प्रधान भएर बाच्ने कि नारायण गोपाल भएर बाच्ने हो। तिमीले आफ्नो स्वरलाई सही रूपमा प्रस्तुत गर भन्नुभएको थियो। त्यसपछि त्यसलाई सुधार गरेर अगाडि बढेको छु।
तपाईं गीतमा जोडिनुको कारण के हो ? गोपाल दाइको कारणबाट नै गीतमा जोडिन गएको हुँ। गोपाल दाइसँग गएर गीत रेकर्ड गर्दा कस्तो हन्छ भन्ने लागेको थियो। त्यही रहरले गीतसँगै डुलायो। मैले फिल्मी, रोमान्टिक गीतसँगै भजनसमेत गाएको छु।
त्यो समयमा गीत संगीतमा जम्न कतिको सहज थियो ? त्यो समयको सबैभन्दा राम्रो पक्ष भनेको गीत गाउने ठाउँ रेडियो नेपाल मात्र थियो। त्यो बेला कुनै कलाकारले एउटा मात्र गीत गाएमा नयाँ गीत गाएको भनेर त्यो संसारमै व्यापक हुन्थ्यो। त्यहाँबाट चिठी पत्र आउने गरेको थियो। त्यो प्रसार धेरै राम्रो लाग्थ्यो। गीतले राम्रो स्तर पाएको थियो। अहिले त कुन गीत कहाँ बज्छ थाहा नै हुँदैन।
पहिलेका गीतहरू गहन र मौलिक हुने तर अहिलेको त्यो हुँदैन भनिन्छ किन ? त्यसको कारण छ। जहाँ परिश्रम हुन्छ त्यसपछि त्यो परिश्रमको फल त अवश्य भेटिन्छ। त्यसमा मेहनत गर्न सक्नुपर्छ। हामीले तथा गोपाल दाइले गीत गाउँदा एक महिना रटाएर मात्र त्यो प्रस्तुत गर्नुपर्ने हुन्थ्यो। अहिले एक दिनमा आठ वटा गीत बनाएर आएको भन्ने सुनिन्छ। यसले गीतको औचित्य पनि कम भएको हुन्छ। गीत हृदय र मुटुलाई छुने हुनुपर्छ। अहिलेको मान्छेमा त्यो भावना नै छैन। अहिले यसको महत्त्व घटेको छ। तर कोही मेहनत गर्नेहरूको अहिले पनि राम्रो छ। म चाहिँ गोपाल दाइको मृत्यपछि सङ्गीतमा टुहुरो भएँ।
तपाईंले गाएका गीतमध्ये सबै भन्दा मन पर्ने गीत कुन हो ? त्यो भन्न नै सकिँदैन। आफ्नो छोरा छोरीमा त कुनलाई बढी माया गर्छस् भने जस्तो हो। एउटा काखा र अर्को पाखा गर्ने खालको गीत नै छैन। सबै गीत मेरा लागि राम्रा छन्।
अहिले केमा व्यस्त हुनुहुन्छ ? अहिले स्कुलमा नै व्यस्त छु। अहिले अर्को अक्षरको अभियानका विषयमा अनुसन्धान गर्न खोजेको छु। अक्षरलाई वैज्ञानिककता कसरी दिएर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा आधारित रहन सकिन्छ भन्ने भावमा रहेको छु। विभिन्न विषयलाई अंगालेर हामी अनुसन्धानतर्फ लाग्ने वातावरण मिलाउन खोजेको छु। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : कुसुम गौतम